आइतबार, साउन २४, २०८३

...उल्टै गगन थापा राजावादी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

गगन थापा नेपाली राजनीतिकै आसलाग्दा र आकर्षक पात्र हुन् । कांग्रेसभित्र र बाहिर पनि उनको आफ्नो खालको पहिचान र छवि छ । कांग्रेसभित्र भरोसा गरिएका थोरै नेतामध्येमा पर्छन् गगन । स्पष्ट र प्रखर वक्ता थापाले गणतन्त्र स्थापना लागि सडकमा निर्णायक माहोल खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गणतन्त्रका लागि  १९ दिनसम्म भएको निर्णायक आन्दोलनको एउटा चर्चित हिरो थिए गगन । गणतन्त्रका लागि लडाइ गर्दा उनले 'दरबारिया र राजावादी बनेको' आक्षेपसमेत खेप्नुपर्‍यो । 

१२ औं गणतन्त्र दिवसको सन्दर्भमा कांग्रेसका प्रखर युवा नेता गगन थापासँग नेपाल समयका लागि मित्र भण्डारीले  गरेको सम्वाद-


गणतन्त्र ल्याउनुपर्छ भन्ने चेतना तपाईँमा कसरी आयो ?

दरबार हत्याकाण्डपछि कांग्रेस नेता नरहरि आचार्यले राजगद्दी उत्तराधिकारी सम्बन्धी कानुन संसद्ले बनाउनुपर्छ भनेर आवाज उठाउनुभयो । त्यो बहसले हामीलाई पनि आकर्षित गरेको थियो । राजाले शासन सत्ता हातमा लिएपछि   सुरुमा प्रजातन्त्र पुनस्र्थापनाको मागसहित आन्दोलन सुरु गरेका थियौं । राजसंस्था अलोकतान्त्रिक बन्दै गएपछि यो माग अझ बलियो बन्दै गयो ।

राजसंस्थाको ऐतिहासिक चरित्र कस्तो रह्यो भने जनताको आन्दोलन उठ्दा चुपचाप बन्ने, लोकतान्त्रिक बन्न खोजेको भ्रम छर्ने र जनता चुपचाप हुँदा फेरि प्रजातान्त्रिक मूल्यमान्यता खोस्ने काम भइरह्यो । पछिल्ला घटनाक्रमको निरन्तर छलफलले के निष्कर्ष निकाल्यौँ भने प्रजातन्त्रलाई निर्बाध रुपमा अगाडि बढाउने हो भने राजतन्त्रको मोह त्याग्नुपर्छ। 

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । यसलाई अझै बलियो र प्रभावकारी बनाउने हो । तर प्रजातन्त्र पटकपटक अवरुद्ध भयो । त्यसकारण राजसंस्था र प्रजातन्त्र एकसाथ अगाडि बढ्न सक्तैन भनेर नै हामीले गणतन्त्रको आवाज उठाएका हौं । गणतन्त्रको आवाज उठाउँदै गर्दा ०५९ सालमा हामीमाथि राजद्रोहको मुद्दा लगाइएको प्रसंग स्मरणीय छ । 



गणतन्त्रको आवाज उठाउँदा कस्ता चुनौती सामना गर्नुभयो ? 

गणतन्त्रको आवाज उठाउँदा परिवारको विशेष साथ र सहयोग रह्यो । आमालाई अलिअलि डर हुने नै भयो । तर उहाँले पनि यो विषय किन उठाएको भन्नु भएन । कहिलेकाहीं केही साथीले खबर ल्याउँथे- 'दरबारले तँलाई तारो बनाएको छ । तँमाथि बढी ध्यान दिएको छ।' मैले पनि त्यस्तो अनुभूति गर्थें । आन्दोलनमा हजाराैं विद्यार्थी सहभागी हुन्थे । मुद्दा मलाई लगाइन्थ्यो ।

दोस्रोपटक देशभरबाट म एक्लैलाई राजद्रोहको मुद्दा लगाइयो । त्यसबेला मलाई दरबारले तारो बनाएको छ भन्ने लाग्थ्यो । तर त्यसको कुनै परवाह गरिनँ। पार्टीभित्र भने म अप्ठ्यारोमा परेँ । गणतन्त्रको आवाज उठाएकै कारण देशकै बलिया नेता, आफूले मानेका नेता एवम् तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग संघर्षपूर्ण सम्बन्ध रह्यो । उहाँले हामीले उठाएका आवाज मन पराउनु भएन । मबाट नेविसंघको जिम्मेवारीसमेत खोसियो । त्यसको केही समयपछाडि स्वयं गिरिजाप्रसाद कोइरालाले मलाई 'दरबारिया' भनेर संगीन आरोप लगाउनुभयो ।
 
गिरिजाप्रसाद कोइराला मात्र हैन कांग्रेसका अन्य नेताहरुले समेत मलाई अछुतको व्यवहार गर्नुहुन्थ्यो । नेपाल विद्यार्थी संघले आयोजना गरेका कार्यक्रम म जहाँ जान्थें त्यो कार्यक्रममा शीर्ष नेताहरू जान मान्दैनथे । गइहाले पनि कुनै बहाना बनाएर कार्यक्रमबाटै भाग्नुहुन्थ्यो । म गएको जिल्लामा स्वयं गिरिजाप्रसाद कोइराला कुनै बहाना बनाएर 'आउन सकिनँ, म त आउन चाहेको थिएँ । तर के गर्ने अर्कै काम पर्‍यो', भन्नुहुन्थ्यो । मैले दुई वर्षसम्म पार्टीमा यस्तो किसिमको तिरस्कार सहेँ । 

तत्कालीन सरकारले मेरो आवाज दबाउन जेल हाल्ने रणनीति बनाएको थियो । त्यो थाहा पाएपछि मैले कुनै पनि हालतका जेल पर्नु हुन्न भन्ने रणनीति बनाएँ । जेल परेँ भने आन्दोलनमा सहभागी हुन पाइँदैनथ्यो । सरकारले व्यापक प्रहरी परिचालन गरेर आन्दोलनकारी धमाधम समाउँदै छ भन्ने थाहा पाएपछि पक्राउ पर्नबाट जोगिन्थें । तैपनि पटकपटक जेल परेँ । केही नेताहरू आन्दोलनमा थप नैतिक बल पुर्‍याउन गिरफ्तारी दिनुहुन्थ्यो म भने भाग्थेँ । म आन्दोलनमै होमिएर आन्दोलनमाथि थप बल पुर्‍याउन चाहन्थेँ । 

गणतन्त्रको १२ वर्षमा तपाईंले सोचेजस्तै गणतन्त्र आयो त ? यस्तै गणतन्त्र खाज्नुभएको थियो ?

हिजो राजासहितको व्यवस्था थियो । आजको गणतन्त्रमा राजाविहीन व्यवस्था छ । नेपालको संविधानले राजासहितको संवैधानिक व्यवस्था गरेको भए के हुन्यो भने ११-१२ वर्षको संक्रमण र जनतामा आएको निराशाले राजालाई के कुराले उक्साउँथ्यो भने 'जनतामा निराशा बढ्यो अब हामीले केही गर्नुपर्छ । मैल जिम्मा लिनुपर्छ ।' यस्तो अवस्था नआओस् भनेर हामीले राजा फ्याँकेका हौँ । हाम्रो प्रजातन्त्रले लामो यात्रा गर्ने पाएन । १०-१२ वर्षको संक्रमणबाट हामी गुज्रेका हुनाले भनेजति गर्न सकेनौं । हामीले गणतन्त्रका उपलब्धि हासिल गर्न नसकेका हौँ । तर हामीले जे गर्‍यौँ त्यो ठिक गर्‍यौँ भनेको पटक्कै होइन । 

व्यवस्था फ्याँक्ने विषयमा हामीले जे गर्‍यौँ, ठिक गर्‍यौँ । सँगसँगै राज्य सञ्चालनका विषयमा हामी चुकेका छौँ । गणतान्त्रात्मक व्यवस्थामा हाम्रा संस्था जस्तै- पार्टी संसद्, अदालत, प्रशासन, सेना, प्रहरी सञ्चालन राजतन्त्रात्मक व्यवस्थाभन्दा फरक हिसाबले चल्नुपथ्र्यो नि । त्यो पुरानै शैलीमा सञ्चालन मात्र गरेका छैनौँ थप कमजोर बनाएका छौँ । ती संस्थालाई नै हामीले पार्टीकरण गर्न थाल्यौँ । हामी सबैभन्दा बढी चुकेको यिनै विषयमा हो ।

हामी पार्टीको रुपान्तरणमा नराम्ररी चुकेका छौँ । ४६ सालअगाडि पार्टीहरु जसरी सञ्चालन भएका थिए, अहिले पनि त्यही शैलीमा सञ्चालित भएका छन् । नेता पनि उही, नेतृत्व पनि उही, तरिका पनि उही । विडम्बना ! हिजोको ढाँचा र ढर्रामा चलेका नेताका शैली फेरिएन । यसलाई परिवर्तन र सुधार गर्न सकेनाैं । एउटा नागरिकको हिसाबले हेर्दा साह्रै असहज महसुस हुन्छ । देशमा शान्ति स्थापना भयो । हामीले संविधान र स्थिर सरकार पायौं । वर्तमान मात्र हैन भविष्यको कल्पना गर्दासमेत आशावादी हुने ठाउँ छैन । 



गणतन्त्र स्थापनाका लागि लडेका नेताहरू नै गणतन्त्र खतरामा छ भन्न थालेका छन् । साँच्चै गणतन्त्र खतरामा परेको हो ?

हामीले संविधानसभामार्फत संविधान बनायौँ । संविधानका महत्त्वपूर्ण काम लगभग सकिएका छन् । सरकार बनेको लगभग डेढ वर्ष भयो । सरकार बनेको डेढ वर्षको यात्रमा राज्यसत्ता सञ्चालन गर्नेले संविधान भएका जुन प्रावधान छन् ती कार्यान्वयन गरेको भए जनताको जीवनमा केही परिवर्तन आउँथ्यो । तर सरकारले काम गर्ने क्षमता नै राखेन । अनि जनतामा थप निराशा ल्यायो ।

निराश नागरिकलाई संगठित गरेर प्राप्त उपलब्धि नै उलटपुलट गर्न प्रयोग गर्ने पो हो कि भन्ने शंका उत्पन्न हुनु स्वाभाविकै हो । सरकारले संविधानका आधारभूत मान्यतालाई मिच्ने, नागरिक अधिकार खोस्ने, प्रेसका अधिकार खोस्ने, संवैधानिक आयोगका अधिकार खोस्ने र शक्ति सन्तुलन भत्काउने संविधानका आधारभूत कुरा मान्न छाडेको छ । संविधानको संरक्षण गर्नुपर्ने सरकारले नै संविधान मान्दैन भने गणतन्त्र धरापमा पर्न लाग्यो भनेर चिन्ता व्यक्त हुनु स्वाभाविकै हो । 

प्रधानमन्त्रीको केही दिनपहिलाको अभिव्यक्ति हेर्ने हो भने उहाँले संघीयता नै मान्नुभएको छैन । संघीयता, गणतन्त्र, समावेशिता एकअर्कासँग जोडिएका विषय हुन् । संविधानमाथिको प्रतिबद्धतामा प्रश्न उठेका छन् । विप्लवले संविधान मान्दिनँ भनेर गणतन्त्र खतरामा परेको होइन । राजाले नमानेर पनि खतरा छैन । सरकारको नियत र यसको क्षमताका कारण गणतन्त्र खतरामा पर्ने पो हो कि भन्ने चिन्ता बढेको हो । सरकार त ठिक भएन-भएन उसलाई ठिक ठाउँमा ल्याउनुपर्ने प्रतिपक्षको भूमिका पनि ठिक भएन । यी यावत् विषय आँकलन गरेर गणतन्त्र खतरामा परेको हो भनियो जस्तो मलाई लागेको छ ।

राजा फ्याँकेर गणतन्त्र त ल्याइयो तर अहिले धेरै राजा जन्मिए, जन्माइयो । यस्तो अवस्थामा मुलुकले गणतन्त्र धान्न सक्छ ?

यसलाई पनि दुई पाटोबाट हेर्नुपर्छ । संघीयतामा गइसकेपछि हामीले तीन तहको सरकार बनायौं । कर्मचारी, सेना र प्रहरी संगठन ठूलो छ । त्यसैले राज्यको दायित्व पनि ठूलो छ । संघीयतामा गएसँगै यसका आकार चुस्त बनाउँदै जानुपथ्र्यो । खर्चको दायित्व कम हुँदै जान्थ्यो । त्यसमा हामीले काम गर्न सकेनौँ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदेखि र वडाध्यक्षसम्मको सेवा सुविधामा प्रश्न उठेको छ । 

महँगो भयो भन्ने सन्दर्भमा जताततै वितृष्णा बढ्दै जानु स्वाभाविक पनि हो । राष्ट्र प्रमुखदेखि वडा अध्यक्षसम्ममा विलासिताको मोह छ । राज्यको ढुकुटी खर्च गर्ने कुरामा अलिकति पनि हिचकिचाहट देखिँदैन । अनि नागरिकले भन्छ हामीले एउटा राजा फालेको त आज यतिधेरै राजा पाल्नुपरेको छ । यसैबाट प्रश्न उठेको त हो नि । यसलाई सुधार गर्न सक्यौं भने त यस्ता प्रश्न नै आउँदैन ।

युवा पुस्तालाई तपाईँको सन्देश ?

हामीले गणतन्त्र र सिंगो व्यवस्थालाई जोगाउनैपर्छ । व्यवस्थाभित्र थप सुधार  खोज्ने हो, विकल्प खोज्ने होइन । नागरिक स्वतन्त्रता लुट्न खोज्नेबाट यसलाई जोगाउनु छ । प्रेस स्वतन्त्रता कुण्ठित गर्नेहरुबाट जोगाउनु छ । राजनीतिक दलभित्र सुधार गर्न नदिने प्रवृत्तिका अगाडि पनि यसलाई जोगाउनु छ । राष्ट्रपति देखि वडा तहका प्रतिनिधिको आचरण सुधार गर्नुपर्नेछ । यी सब यही व्यवस्थाभित्रैबाट गर्ने हो । जसका लागि हामीले पूरै शक्ति लगाउनुपर्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।