काठमाडौं- सरकारले कर्मचारीको तलब १८ देखि २० प्रतिशतले बढाउने निर्णय गरेसँगै सांसद्, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति लगायत राज्यका उच्च ओहदामा रहेकाहरुको पनि तलब बढेको छ ।
सांसद्को तलब मासिक करिब १० हजारले बढेको छ भने मन्त्रीको तलब ११ हजारले बढेको छ । उपप्रधानमन्त्रीको तलब साढे ११ हजारले बढ्दा प्रधानमन्त्रीको तलब १४ हजारले बढेको छ । उपराष्ट्रपतिको तलब साढे १९ हजारले बढेको छ । राष्ट्रपतिको तलब भने २७ हजारले वृद्धि भएको छ ।
कसको तलव कति पुग्यो ?
संसद् सचिवालयका अनुसार संघीय सांसदको पारिश्रमिक पनि १८ प्रतिशतले वृद्धि हुँदा ६५ हजार १ सय ७२ पुग्नेछ। सांसदको तलब ९ हजार ९ सय ४१ रुपैयाँले प्रतिमहिना वृद्धि हुनेछ। सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष र संसदीय समितिका सभापतिको तलब पनि १८ प्रतिशत बढेको छ।
सांसदको तलबवृद्धिसँगै मन्त्रीहरुको तलब पनि बढेको छ। मन्त्रीहरुको तलब हाल ६० हजार ९ सय ७० रुपैयाँ छ। १८ प्रतिशत वृद्धिसँगै मन्त्रीको तलब ७१ हजार ९ सय ४५ पुग्नेछ।
उपप्रधानमन्त्रीको हाल कायम ६५ हजार २ सय तलबमा १८ प्रतिशत वृद्धि भई ७६ हजार ९ सय ३६ पुग्ने छ। यस्तै प्रधानमन्त्रीको तलबमा १३ हजार ९ सय १० वृद्धि भएको छ। प्रधानमन्त्रीको तलब हाल ७७ हजार २ सय ८० छ। वृद्धिसँगै प्रधानमन्त्रीको तलब ९१ हजार १ सय ९० पुगेको छ।
आगामी साउनदेखि राष्ट्रपति र उपराष्ट्रपतिको तलब पनि १८ प्रतिशतले बढेको छ। राष्ट्रपतिको हाल १ लाख ५० हजार ४ सय ५० रुपैयाँ तलब छ। २७ हजार ८१ रुपैयाँ वृद्धि हुँदा राष्ट्रिपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ पुग्नेछ।
यस्तै उपराष्ट्रपतिको १ लाख ८ हजार ३० रुपैयाँ तलबमा १९ हजार ४ सय ४५ रुपैयाँ वृद्धि हुँदा १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पुग्नेछ।
