काठमाडौं- देश लोकतान्त्रिक पथबाट विचलनमा जान सक्ने, फेरि हिंसात्मक अराजकतातर्फ जाने परिस्थिति, भ्रष्टाचारले राष्ट्रिय जीवनका हरेक कुनाकाप्चालाई ढाक्दै गएको भन्दै नागरिक समाजका अगुवाले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय जटिल परिस्थितिमाझ राष्ट्रिय स्वाधीनता नै खतरामा पर्न सक्ने लगायतका अनेक जोखिम देखापर्न थालेकाले औंल्याउँदै सरकारलाई लोकतान्त्रिक संघीय गणतन्त्रको मर्मअनुरुप चल्न आग्रह गरेका छन्।
उनीहरूले भनेका छन्, ‘देशमा असन्तुष्टि बढ्दै अराजकताको हदसम्म नपुगोस् भन्ने चाहना राख्दै मिडिया काउन्सिल विधयेक, मानव अधिकार आयोगको ऐन संशोधन प्रस्ताव, शिक्षा सम्बन्धी विधयेक लोकतान्त्रिक मूल्यमान्यतामा आधारित हुनका साथै संक्रमणकालीन न्यायका सवाललाई द्वन्दपीडित तथा अधिकारकर्मीका माग सम्बोधन गर्न र जनताको शान्ति, लोकतन्त्र, समृद्ध तथा मानव अधिकारको आशा आकांक्षा सम्बोधन गर्न हामी जोडदार अपिल गर्दछौं।’ लोकतान्त्रिक गणतन्त्रको संविधानलाई क्रियाशील गराउन यसका शाश्वत लोकतान्त्रिक मूल्यमान्यता अंगीकार नगरी मुलुकलाई लोकतान्त्रिक बाटोबाट विचलित हुन नदिने दायित्व नागरिकको पनि हो भन्नेमा आफूहरू सजग रहेको उनीहरूको भनाइ छ।
२०६२–०६३ लोकतान्त्रिक आन्दोलनमा २४ जना नागरिक अगुवाले कर्फ्यु तोडेका थिए। तीमध्ये लक्ष्मणप्रसाद अर्याल तथा पद्मरत्न तुलाधरको निधन भइसकेको छ। उनीहरुमध्ये राजधानीमा उपलब्ध दमननाथ ढुंगाना, डा. सुन्दरमणि दीक्षित, डा.मधु घिमिरे, डा.भरत प्रधान, डा.सरोज धिताल, डा.शरद वन्त, डा. विदुर वस्ती, डा.राशन झा, मल्ल के सुन्दर, कनकमणि दीक्षित, शान्ता दीक्षित, चरण प्रसाईंको भेलाले यस्तो चिन्ता व्यक्त गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४