काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा पेस भएको बजेट बारे अर्थविद्हरुसँग छलफल गरेको छ। कांग्रेसको बिहीबार बसेको संसदीय दलको बैठकमा स्वर्णिम वाग्लेलगायत आधा दर्जन अर्थविदसँग छलफल गरिएको छ।
प्रत्येक नेपालीमाथि वैदेशिक ऋण बढेको भन्दै अर्थविद र सांसदहरुले चिन्ता व्यक्त गरेका छन्। ‘प्रत्येक नेपालीमाथि १६ हजारभन्दा बढी वैदेशिक ऋण थोपरिएको छ। यसले देशको भविष्यलाई नै खतरामा पारेको छ।’ बैठकमा सहभागी सांसद राजेन्द्र कुमार केसीले नेपालसमयसँग भने, ‘त्यस विषयमा अर्थविदहरुले पनि चिन्ता व्यक्त गरेका छन्।’
बजेट स्वरोजगारमुखी नभई वितरणमुखी भएको निष्कर्ष निकालिएको केसीले बताए। बजेटका विषयमा कांग्रेसले आधिकारिक धारणा केही दिनमै सार्वजनिक गर्ने जनाइएको छ।
अर्थविद् तथा विभिन्न पक्षसँग छलफल गरी कांग्रेसले बजेटमाथि धारणा राख्ने उनले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४