काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेसँगै केहि वस्तु र सामानको मूल्य बढ्ने भएको छ । बजेटमा कर बढाइएसँगै ती बस्तुको मूल्य बढ्ने भएको हो । यद्यपी यो आगामी साउन १ गतेबाट लागु हुनेछ ।
के के मा बढाइयो कर
– बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक (सडक मर्मतसम्भार करं) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ ।
१ साउनदेखि पेट्रोलबाट पाँच रुपैयाँ र डिजेलबाट तीन रुपैयाँ कर उठाउन सुरु हुनेछ । यो करको भार उपभोक्ता मूल्यमा हुनेछ । यसअघि आव ०७३÷७४ देखि बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोल, डिजेल र हवाई इन्धनबाट समान पाँच रुपैयाँ प्रतिलिटर कर उठाउँदै आइएको छ ।
– पास्ता, चिप्सलगायत उत्पादनमा २ रुपैयाँ अन्तःशुल्क बढाइएको छ । पहिले प्रतिकिलो १५ रुपैयाँ अन्तःशुल्क तिर्नुपर्थ्यो भने अब १७ रुपैयाँ तिर्नुपर्नेछ । कुरमुरे, चिजबल्स, लेजमा पनि अन्तःशुल्क प्रतिकिलो २ रुपैयाँ ले बढाएर १७ रुपैयाँ बनाइएको छ ।
– बदाम, भुइँकटहर, नासपाती, खुर्पानी, स्ट्रबेरीमा पाँच प्रतिशत अन्तःशुल्क लाग्दै आएकामा यो बजेटले शतप्रतिशत वृद्धि गरी १० प्रतिशत अन्तःशुल्क पुर्याएको छ ।
– चिनी हालेको वा नहालेको, स्प्रिट नहालेको, नकुहाएको फलफूलको रस, वनस्पति रसमा एक रुपैयाँ कर बढाइएको छ । पहिले प्रतिलिटरमा १० रुपैयाँ तिर्नुपर्नेमा अबदेखि ११ रुपैयाँ तिर्नुपर्नेछ ।
– सुर्तीरहित पान मसलामा प्रतिकिलो ५५ रुपैयाँले कर बढाइएको छ । पहिले ५ सय ५५ रुपैयाँ तिर्नुपर्नेमा अब ६ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ । सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो २ सय ५ रुपैयाँ तिर्नुपर्नेमा अब २ सय २५ रुपैयाँ तिर्नुपर्नेछ ।
– मदिरामा औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको छ । जौबाट बनेको बियरमा पहिले प्रतिलिटर १५० रूपैया तिर्नु पर्नेमा अब १६५ रूपैया तिर्नु पर्ने छ । ३३५ रूपैया तिर्नु पर्ने मदिरामा अब ३७० रूपैया तिर्नु पर्ने छ । पहिले अन्तःशुल्क १२०४ रूपैया तिर्नु पर्नेमा अबदेखि १३२५ रूपैया तिर्नु पर्ने छ ।
– सुर्ती जन्य पदार्थको अन्त शुल्कमा पनि बृद्धि भएको छ । पहिले प्रति केजी ८५ रूपैया तिर्नु पर्ने अन्तः शुल्कलाई बढाएर ९५ रूपैया बनाइएको छ । त्यसै गरी १३४० रूपैया तिर्नु पर्ने अन्तःशुल्कमा १३५ रूपैया बढाएर १४७५ रूपैया बनाइएको छ ।
– सिमेन्ट र फलामे डण्डीमा पनि १० प्रतिशतले अन्तः शुल्क बढाइएको छ । सिमेन्टमा पहिले प्रति मेट्रिक टन २ सय रूपैया अन्त शुल्क तिर्नु पथ्र्यो भने अब २२० रूपैया तिर्नु पर्ने छ । त्यसै गरी फलामे डन्डीमा प्रति मेट्रिक टन १५ सय रूपैयाँ तिर्नुपर्थ्यो । अबदेखि १६५० रूपैया तिर्नुपनेछ ।
दुग्धबाट बनेको खाद्य पदार्थ, बटर तथा कुरमुरे, नुडल्स र विस्कुटमा पहिलको ३० प्रतिशत भन्सार दरबन्दी बढाएर अहिले ४० प्रतिशत पुर्याइएको छ ।
फलफूल मसलामा पनि लगाइयो कर
फलफुलका पेय पदार्थमा प्रति किलो ६० रूपैया भन्सार लगाउन थालिएको छ । स्याउ अंगुर, आँप भुईकटरका पेय पदार्थको आयातमा प्रति लिटर ६० रूपैयाँसम्म भन्सार लाग्ने भएको छ । यी शीर्षकमा भन्सार थिएन ।
– जडिबुटीबाट बनेका च्यवनप्राशजस्ता भिटामिन पदार्थमा पनि अबदेखि १० प्रतिशत भन्सार तिर्नु पर्ने छ । यसअघि यसमा भन्सार थिएन ।
– गोलभेडाको अचार, मैदा, सर्स्यौ, मिश्रित मसला आयातमा पनि २० प्रतिशत भन्सार तिर्नु पर्ने भएको छ । यस्तो व्यवस्था पनि पहिले थिएन । अन्य खाद्य पदार्थ जसको विगतमा २० प्रतिशत भन्सार तिर्नुपर्थ्यो त्यसको ४० प्रतिशत भन्सार तिर्नु पर्ने छ ।
– मिनिरल वाटरको आयातमा पनि ४० प्रतिशत भन्सार तिर्नु पर्नेछ । अल्कोहलरहित वियरमा पहिले ३० प्रतिशत भन्सार तिर्नुपर्थ्यो भने अब ४० प्रतिशत तिर्नु पर्ने छ । जौ बाट बनेको वियरमा प्रति लिटर २ सय रूपैयाँ भन्सार तिर्नु पर्ने छ । विलासी सवारीको भन्सारमा भने कुनै परिवर्तन गरिएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४