काठमडौं- सरकारले बुधबार सार्वजनिक गरेको बजेटलाई धेरैले पपुलिस्ट र वितरणमुखी भएको भनेर टिप्पणी गरेका छन् । बजेट वितरणमुखी भएकै कारण स्रोतमा उच्च दबाब परेको पनि अर्थशास्त्री र योजनाविद्हरुले बताएका छन् ।
बिहीबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि बजेट वितरणमुखी रहेको र यसले स्रोतमा दबाब दिएको विषयलाई नै उठाएका छन् । सबैलाई रिझाउने बजेट ल्याउदा स्रोतमा भने चर्को दबाब परेको उनीहरुले उल्लेख गरेका छन् । बजेट वितरणका हिसावले आशावादी देखिएपनि आयोजनामा भने निराशा देखिएको पनि पत्रपत्रिकाले लेखेका छन् ।
बजेटको विषयलाई मुख्य समाचार बनाउँदै आजको अन्नपूर्ण पोस्ट सबैलाई रिझाउने बजेट शीर्षकमा मुख्य समाचार छापेको छ । चालु वर्षको बजेटको तुलनामा दुई खर्ब १७ अर्ब रुपैयाँले बजेटको आकार बढाएर अर्थमन्त्री युवराज खतिवडाले लोकरिझ्याइँका कार्यक्रम र अन्य विकास निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरेको उसले समाचारमा लेखेको छ।
अघिल्लो बजेटले पार्टी घोषणापत्रलाई बेवास्ता गरेको तथा बजेटको आकारकै कारण प्रभाव जमाउन नसकेको भन्दै सत्तारूढ दलका सांसदले नै आलोचना गरेपछि यसपटकको बजेटमा अर्थमन्त्री थप उदार देखिएका छन्। उनले वृद्धभत्ता तथा अशक्तरअपांग, एकल महिला र लोपोन्मुख जनजातिले प्राप्त गर्ने भत्ता प्रतिमहिना एक हजारका दरले बढाएका छन्।
करिब २१ लाख जनसंख्याले यस्तो भत्ता लिँदै आएका छन्। यसबाहेक उनले तल्लो तहका कर्मचारीको २० प्रतिशत र अधिकृतदेखि माथिका कर्मचारीको तलब १८ प्रतिशत वृद्धि गरेका छन्। कर्मचारी तलबका लागि चालु आर्थिक वर्षमा ११७ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएकोमा आगामी वर्षका लागि १४५ अर्ब रुपैयाँ खर्च हुने भएको छ।
यस्तै आजको नयाँ पत्रिकाले बजेट ः वितरणमा आशा, आयोजनामा निराशा शीर्षकमा मुख्य समाचार छापेको छ। जिडिपीको १४ प्रतिशत बजेट घाटा, बजेटमा २७ प्रतिशत वृद्धि, तर पनि कुनै ‘गेम चेन्जर’ कार्यक्रम वा परियोजना घोषणा नभएको भन्दै उसले टिप्पणी गरेको छ।
सरकारले जनता, सरकारी कर्मचारी तथा राजनीतिक कार्यकर्ता सबैलाई रिझाउने किसिमको वितरणमुखी बजेट ल्याएको समाचारमा उल्लेख छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्तामा ठूलो वृद्धि भएको छ । त्यस्तै, कर्मचारीको तलब र सांसद्हरूलाई प्रतिनिर्वाचन क्षेत्र पाउने रकममा पनि वृद्धि गरिएको छ ।
तर, चालू आर्थिक वर्षको संशोधित खर्चको अनुमान १२ खर्ब सात अर्बभन्दा करिब २७ प्रतिशत ठूलो बजेट ल्याए पनि कुनै ठूलो गेमचेन्जर परियोजना भने घोषणा गरिएको छैन । निरन्तर चलिआएका परियोजनालाई निरन्तरता मात्रै दिइएको समाचारमा जनाइएको छ ।
आजको नागरिक दैनिकले १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेटः वितरणले स्रोतमा दबाब शीर्षकमा मुख्य समाचार छापेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी घोषणापत्र र राजनीतिक दबाब थेग्न नसकेका अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सबैलाई खुसी पार्ने किसिमले बनाउँदा स्रोतमा उच्च चाप परेको समाचारमा उल्लेख छ ।
बजेटले कर्मचारी, व्यापारी, कमाउने वर्ग, ज्येष्ठ नागरिक, एकल महिला, अपांग, किसान, निरपेक्ष गरिबीमा रहेका नागरिक, बालबालिकालगायत सबै वर्ग र तहलाई खुसी बनाउन पर्याप्त रकम विनियोजन गरेको छ। यही कारण स्रोतमा चाप परेको छ ।
बजेट वितरणमुखी र सबैलाई खुसी पार्ने बनाउँदा राजस्व र आन्तरिक ऋणमा मात्र होइन वैदेशिक ऋण पनि धेरै उठाउन खोजिएको नागरिकले लेखेको छ।
कान्तिपुर दैनिकले पनि बजेट विरतणमुखि भएको तर त्यो वितरणमा अनुशासन नदेखिएको एङ्गलबाट समाचार लेखेको छ । मनग्गे वितरण, अनुशासनमा विचलन शीर्षकमा मुख्य समाचार छापेको उसले अर्थशास्त्री र योजनाविद्हरुलाई उदृत गर्दै बजेट पपुलिस्ट र वितरणमुखी भएको भनेर टिप्पणी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४