काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा १५ खर्ब ३२ अर्ब ९४ करोड ९१ लाख रुपैयाँ बजेट सार्वजनिक गरेका हुन्।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्थात २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८८ करोड रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ।
त्यसैगरी श्रोत व्यवस्थापनतर्फ सरकारले ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ भने बैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड ५५ लाख उठाउने लक्ष्य राखेको छ। बैदेशिक अनुदान र राजस्वबाट पनि बजेटको स्रोत व्यवस्थापन नभएपछि सरकारले बाँकी ४ अर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ बैदेशिक ऋण र आन्तरिक ऋण बाट जुटाउने लक्ष्य राखेको छ।
सरकारले वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८६ करोड ३३ लाख जुटाउने छ भने बाँकी १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाएर व्यवस्थापन गरिने अर्थमन्त्री खतिवडाले बताए।
आगामी आर्थिक वर्षको लागि सरकारले शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ भने स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ।
संघीय संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री डा.खतिवडाले श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए। जसमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ५ अर्ब एक करोड रुपैयाँ समेत समावेस गरिएको छ।
त्यसैगरी बजेटमा सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड, कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड, महिला वालिका तथा ज्येष्ठ नागरिकहरुका क्षेत्रमा ७८ करोड, सिँचाइका लागि २३ अर्ब ६३ करोड, वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड रुपैयाँ र भूमिसुधार तथा सहकारीका लागि ७ अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब, खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड, ऊर्जाका लागि ८९ अर्ब ८३ करोड, यातायात पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब, हवाइ क्षेत्रमा १५ अर्ब ८५ करोड, यातायात व्यवस्थापनमा १ अर्ब ५३ करोड, युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यसैगरी पर्यटन क्षेत्रका लागि २२ अर्ब ६८ करोड, औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड, वाणिज्य तथा आपूर्तिका लागि ११ अर्ब ७४ करोड रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।
गत वर्ष अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेका थिए। तर बजेटको मध्यावधि समीक्षा मार्फत बजेटको सिलिङ घटाएर ११ खर्ब ९९ अर्बमा झारेका थिए।
बजेटको पूर्णपाठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४