दिपायल - वर्तमान सरकारले बैधानिक रुपमैं लोकतन्त्र उल्ट्याउन लागेको आरोप नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लगाएका छन्। लोकतन्त्र विरुद्धको विधेयकहरु अगाडि बढाएर सरकारले लोकतन्त्र उल्ट्याउन खोजेको पौडेलले बताए।
नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले मुलुकको शासन सत्ता लोकतन्त्रमा विश्वास नगर्ने शक्तिका हातमा गएको बताए। आम नागरिकमा फेरि लोकतन्त्र संकटमा पर्न लागेको आभास भएको दाबी उनले गरे।
'सरकारले ल्याएको विधेयक सवै नागरिक अधिकार र लोकतन्त्र तथा संविधानलाई अनादर गर्ने खालका छन्। यो लोकतन्त्रमा विश्वास नहुने शक्तिका हातमा सत्ता पुगेका कारण भएको हो।’ पौडेलले भने, ‘उनीहरु बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउने प्रयास स्वरुप प्रेसमाथि अंकुश लगाउने विधेयक, मानवअधिकार आयोगलाई कमजोर बनाउने विधेयक, सेनामाथि नियन्त्रण गर्ने, विश्वविद्यालयलाई राजनीतिक भर्तिकेन्द्र बनाउने विधेयक सरकारले अगाडि बढाएको हो।’
नेपाललाई अनिश्चिततातर्फ लैजाने संकेत देखा पर्न थालेको बताउँदै पौडेलले मुलुकले हिंसा धान्न नसक्ने र गणतन्त्रको रक्षाका लागि पनि तत्काल हिंसाको अन्त्य गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरे। ‘हिंसा मुलुकले धान्न सक्दैन्। त्यसोभएकाले गणतन्त्रको रक्षाका लागि हिंसाको अन्त्य हुनुपर्छ।’ पौडेलले भने, ‘अहिले जनमत लिएर कम्युनिष्ट पार्टी सत्तामा पुगेका छन्। मुलुकमा गणतन्त्र आएको छ। अब पनि जनतालाई विश्वास नगर्ने राजनीति पार्टीले आफुलाई राजनीति दर्जामा राख्न मिल्दैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४