धनगढी- बैतडीको दोगडाकेदारमा सोमवार बिहानै शंकास्पद बस्तु फेला परेको छ । दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा उक्त शंकास्पद बस्तु भेटिएको हो ।
प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा उक्त बस्तुहरु रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ । उक्त शंकास्पद बस्तु बम हुनसक्ने प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद बस्तु डिस्पोजलका लागी बैतडीस्थित हनुमानध्वज गुल्मको सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरी प्रवक्ता चन्दले बताए । नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल बन्द रहेकोले विप्लव समूहले उक्त शंकास्पद बस्तु राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
विप्लव समूहले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिरोधमा आह्वान गरेको नेपाल बन्दको सुदूरपश्चिममा पनि पुर्ण रुपमा प्रभाव परेको छ । यातायातका साधन, व्यापार व्यवसाय, शैक्षिक सस्था पुर्णरुपमा बन्द छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४