जनकपुरधाम - नेपाल–भारतबीचको सीमा स्तम्भ निर्माण र मर्मत सम्भार गर्न दुबै मुलुकले चासो देखाएको छ। आइतबार जनकपुरमा सम्पत्र नेपाल–भारत संयुक्त सीमा टोलीको संयुक्त बैठकमा जीर्ण रहेका सीमा स्तम्भ र नयाँ स्तम्भ निर्माण गर्न दुबै मुलुकका प्रतिनिधिहरुले चासो व्यक्त गरेका हुन्।
नेपालको धनुषा, महोत्तरी, सिरहा र सप्तरी तथा भारत बिहारस्थित मधुबनी जिल्लाका अधिकारीबीच भएको बैठकमा सीमा क्षेत्रको बाँकी रहेका स्थानहरुमा तत्काल स्तम्भ निर्माण गर्न सम्झौता भएको छ।
भारतको मधुबनी जिल्लासँग जोडिएको धनुषा, महोत्तरी, सिरहा र सप्तरीसम्म कुल ९४२ सीमा स्तम्भ रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी कँणेलका अनुसार महोत्तरीदेखि सप्तरीसम्म कुल ९४२ वटा सीमा स्तम्भहरु मध्ये ३९४ को मर्मतसम्भार र ५४८ निर्माण गर्नुपर्ने छ। दुई मुलुकका अधिकारीहरुबीच आउँदो ‘सिजन’ मा सप्तरीमा निर्माण गर्नुपर्ने सम्झौतामा हस्ताक्षर भएको बैठकपछि कँणेलले सञ्चारकर्मीहरुलाई बताए। यसैगरी यस ‘सिजन’ मा ६१८ वटा सीमा स्तम्भको मर्मत सम्भार गरिएको समेत उनले जानकारी दिए।
यसैगरी मधुबनी जिल्लाका डीएम श्रीसशक्त कपिल अशोकले सीमा स्तम्भ दुई मुलुकबीचको मित्रताको संकेतसमेत रहेको बताए। दुई मुलुकबीचको सीमा छुट्याउने उद्देश्यले गाडिएका सीमा स्तम्भहरुको मर्मत सम्भार तथा नयाँ निर्माण मित्रवत तरिकाले गरिएको उनको भनाइ थियो।
स्तम्भ निर्माण, मर्मत सम्भार तथा सीमा रक्षा गर्न नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले बाँकी रहेका सीमा स्तम्भहरु दुबै देशले चाँडै निर्माण गर्ने बताए।
नेपाल–भारत संयुक्त सीमा टोली–२ को यसअघि पहिलो बैठक गत डिसेम्बरमा मधुबनीमा बसेको थियो। आइतबार दोस्रो बैठकपछि आगामी बैठक डिसेम्बर महिनामा मधुबनीमा हुने बताइएको छ।
बैठकमा धनुषाबाहेक महोत्तरी, सिरहा, सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका जिल्ला प्रमुख, सशस्त्र प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४