काठमाडौं - काठमाडौंको सुकेधारा र अनामनगरमा शक्तिशाली बम विष्फोट हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। सुकेधारा विस्फोटमा थप एकको मृत्यु भएपछि मृतकको संख्या बढेको हो ।
सुकेधारामा रहेको एक शैलुनमा बम विष्फोट हुँदा एकजनाको घटनास्थलमै र अर्काको उपचारका क्रममा ओम अस्पतालमा ज्यान गएको थियो। यस्तै विष्फोटमा परी अन्य पाँच जना घाइते भएका र उनीहरुको ओम अस्पतालमै उपचार भैरहेको छ।
यस्तै घट्टेकुलोमा भएको विष्फोटमा एक जना पुरुषको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। घाइतेको वीर अस्पतालमा उपचार भैरहेको छ। उनको अवस्था गम्भीर रहेको छ। प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले के विष्फोट भएको हो भन्नेबारे खुल्न नसकेको बताए। उनले घटनाबारे अनुसन्धान जारी रहेको नेपाल समयसँग बताए।
मृत्यु तथा घाइते भएकाहरुकाे पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४