काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा यही जेठ १४ गते आयोजना हुने जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास बैरागीले बिदाइ गरे । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो ।
उपराष्ट्रपति पुन जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुनु भई नेपालको धारणा राख्ने छन् । भ्रमणको क्रममा उनले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नेछन् । उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने कार्यतालिका छ ।
अष्ट्रियामा रहँदा उपराष्ट्रपति अष्ट्रियास्थित नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने छन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी छन् । भ्रमण सकेर उनी यही जेठ १८ गते स्वदेश फर्किने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४