काठमाडौं- आसुसेन फिल्मस्बाट निर्माण हुन लागिरहेको प्रेमगीत ३ मा चर्चित अनुहारले पनि अडिशन दिएका छन् ।
जुन टप २५ मा उनीहरु पर्न सफल भएका छन् । ती हुन् अञ्जली अधिकारी, श्रद्दा क्षेत्री, करुणा श्रेष्ठ, पूजा तिवारी र रितु पौडेलले गीतको भूमिका लागि अडिशन दिएका थिए ।
करुणले सय कडा दश, श्रद्धा क्षेत्रीले हृदयभरि, पूजा तिवारी लव यू वेवी र रितु पौडेलले यो मया कस्तो माया मा लिड भूमिका गरेका थिए भने अञ्जली अधिकारीले प्रकाश सुपूतको बोल मायाको चर्चित म्युजिक भिडियोमा अभिनय गरेकी थिइन ।
आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित २०७२ सालको रोमान्टिक हिट 'प्रेमगीत' र यसका मुख्य पात्र 'प्रेम र गीत' ले त्यतिबेला दर्शकहरुमाझ आफ्नै छुट्टै स्थान बनाए । र चलचित्र प्रेमगीतले दर्शकको मन जित्न सफल भएको थियो ।
अब बन्न लागेको चलचित्रको तेश्रो संस्करणमा निर्माण पक्षले गीतको लागि सुहाउदो अनुहार र पात्रको खोजी गर्दै केही समय अघि अडिसनको आह्वान गरेको थियो। यो नेपाली दर्शकहरुमाझ चलचित्र 'प्रेमगीत' र त्यसमा गीतको पात्रको लोकप्रियता नै हो, विश्वभरबाट गीतको पात्र खेल्न इच्छुक २७ सय १४ जना युवतीको उत्साहजनक आवेदन आसुसेनको अफिसियल वेबसाइटमा सङ्कलन भयो।
देश तथा विदेशबाट आएको व्यापक सहभागिताले निर्माण पक्षलाई हौशला त प्रदान गर्यो नै संगसंगै ति मध्यबाट सुहाउदो गीत खोज्न चुनौती पनि उत्तिकै दिएको छ। अहिले भने निर्माण पक्षले आएका आवेदनहरुबाट विभिन्न आधारमा अव्वल २५ जनालाई छनौट गरेको छ। आशुसेन फिल्मस् ले यसअघि चलचित्र 'प्रेमगीत'मा नायक प्रदीप खड्कालाई पनि अडिसन मार्फत नै रोजेको हो।
यहि चैत्र २८ गते प्रदर्शनको लागि आफ्नो मिति तोकेको चलचित्रका मेकरहरुले छानेका उत्कृष्ट २५ सहभागीहरु मध्य पात्रमा पर्फेक्ट गीतलाई अब भने निर्देशक, क्यामराम्यान र कोरियोग्राफर लगायतका क्रिएटिभ टिमले छान्नेछन्।
निर्माण पक्ष अनुसार अहिले छनौटमा परेका २५ जना सहभागीहरु नै नायिका बन्न सक्ने सम्भावना बोक्दछन। सबै आफैमा उत्कृष्ट छन्, यी २५ बाट चलचित्रको कथाको माग अनुसार एक जना गीत निस्किएपनि, बाकि सबैले यस क्षेत्रमा कुनै न कुनै दिन आफ्नो स्थान पक्का गर्ने सक्षम भएको निर्माण पक्षको विश्वास रहेको छ।
चलचित्र 'प्रेमगीत ३'लाई भने यसपटक निर्देशक छेतन गुरुङ्गको साथमा यसअघिका प्रेमगीत चलचित्रको निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४