सुर्खेत - एक युवतीको हत्या गरेको अभियोगमा चीनको चाक्लाकोटबाट एक नेपाली युवा पक्राउ परेका छन्। रोजगारीको शिलशिलामा ताक्लाकोट पुगेको हुम्ला सर्केगार्ड गाउँपालिका वडा नम्बर २ का तेज बहादुर फडेरा हत्या अभियोगमा पक्राउ परेका हुन्। चिनीयाँ युवतीलाई बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले फडेरालाई पक्राउ गरेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन्।
ताक्लाकोटमा रहेका सिमकोट गाउँपालिका वडा नम्बर २ का धनजित भण्डारीले फडेरा पक्राउ परेको पुष्टि गरे। उनका अनुसार ताक्लाकोटबाट प्रहरीले नियन्त्रणमा लिएका फडेरालाई थप अनुसन्धानका लागि तुन्चुउमा लगेको छ। युवती हत्यापछि ताक्लाकोटमा रहेका नेपालीहरुमाथि प्रहरीले कडा रुपमा निगरानी समेत बढाएको छ।
घटनापछि नेपालीलाई ताक्लाकोटबाट नेपालतर्फको हिल्सा नाकामा आउन समेत रोक लगाइएको छ। कामको खोजीमा हुम्लाका दुई हजारबढी नेपालीहरु ताक्लाकोटमा पुगेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४