आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कीर्तिमानी कामीरिता भन्छन् : ‘सगरमाथा आरोहण मेरो प्यासन’

कीर्तिमानी कामीरिता भन्छन् : ‘सगरमाथा आरोहण मेरो प्यासन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ -“सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो”, सगरमाथाको २४ औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले भने। यही जेठ ७ गते २४ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोही शेर्पाले शनिबार काठमाडौँ फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको स्वागतपछि संक्षिप्त प्रतिक्रिया दिँदै सगरमाथा आरोहणलाई आगमी वर्ष पनि निरन्तरता दिने बताए।

चौबीसौँ पटक सगरमाथाको सफल आरोहण गर्दा कस्तो अनुभूति भएको छ भन्ने जिज्ञासामा आरोही शेर्पाले सफलतापूर्वक सगरमाथा आरोहण सकेर फर्किएकामा आफूलाई असाध्यै खुसी र गर्वको महसुस भएको बताउँदै शारीरिक अवस्था पनि तन्दुरुस्त रहेको जानकारी दिए। यस यामको आरोहण सन्दर्भमा आरोही शेर्पाले मौसमले साथ दिएकाले नै आफूसहितका आरोहीले सफलता पाएको उल्लेख गरे। उनकी धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पाले श्रीमानको सफलताले आफूमा खुसीको सीमा नरहेको बताइन्।

आरोही शेर्पालाई विमानस्थलको आन्तरिक टर्मिनल परिसरमा भव्य स्वागत गरिएको थियो। उपस्थित शेर्पा समुदायले परम्पराअनुरुप शेर्पा पहिरनमा झाँकी, सांस्कृतिक बाजागाजासहित कीर्तिमानी शेर्पालाई स्वागत गरेका थिए। शेर्पालाई नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा, महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङसहितका पदाधिकारी तथा सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पालगायतले स्वागत गरेका थिए। कीर्तिमानी आरोहीको स्वागतका लागि धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पालगायत परिवार आफन्त तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिका उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो।

सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३ औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्। वसन्त ऋतुको यस याममा कामीरिताले सात दिनको अवधिमै दुई पटक सगरमाथा अरोहण गरेका थिए। उनले आगामी वर्षमा पनि आरोहणलाई निरन्तरता दिने बताए।

सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार कामीरिता शेर्पाले ७ गते बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४ औँ पटक सफल आरोहण गरेका थिए। त्यसअघि उनले जेठ १ गते बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको २३ औँ पटक आरोहण गरी कीर्तिमान कायम गरेका थिए।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताइसकेका छन्। शेर्पाले एकै याममा दुईपटक सगरमाथा चढेको यो चौथो पटक हो। यसअघि उनले तीन आरोहण याममा दुई/दुई पटक सगरमाथा चढिसकेका छन्। कामीरिताले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पाएकाले पनि सन् २००९, २०१० र २०१३ को वसन्त ऋतुको एकै याममा दुईपटक सगरमाथा चढेका थिए। कामीरितापछि हालसम्म आप्पा शेपा, ङ्मिनुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ। त्यस्तै लाक्पारिता शेर्पाले १७  र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन्।
    
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले दिएको जानकारीअनुसार यस याममा जारी हिमाल आरोहणको क्रममा आजसम्म करीब ६०० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो। कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि भइनसकेको विभागले जनाएको छ। विगत तीन दिनयता सगरमाथा आरोहणमा ट्राफिक जाम नै भएका खबर आएका छन्। खासगरी बिहीबार र शुक्रबार चुचुरोमा बढी आरोहीको भीड लागेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए। सम्पर्क अधिकृत श्रेष्ठले सगरमाथाको आरोहण यही १३ गते सोमबार अर्थात् मे २७ सम्म सकिनेछ। अन्तिम आरोहण १३ गते हुनेछ। जसमा २० देखि २५ आरोही चुचुरो चुम्ने तर्खरमा छन्।

विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन्। सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए। यस्तै, सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।
 
सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन्। यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते सुरु भएको थियो। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।