काठमाडौँ- वाइडबडी घोटाला काण्ड सामसुम बन्दै गएका बेला ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे आज (शनिबार) सार्वजनिक सुनुवाई गर्दैछ । आम नागरिकको सहभागितामा मध्यान्ह १२ बजे काठमाडौंको वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो ।
नेपाल वायुसेवा निगमको हाईफ्लाई-एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०-२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन सार्वजनिक सुनुवाइ गर्न लागिएको अभियानकर्मी डा सुरेन्द्र भण्डारीले जानकारी दिए । यस विषयमा नागरिकको चासो कति छ भन्ने जाच्न पनि कार्यक्रम गरिएको उनको भनाइ छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको सहभागिता हुनेछ । संयोजक सुकदेव भट्टराईले वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न दबाब दिनका लागि पनि यो कार्यक्रम गरिएको बताए ।
संसद्को सर्वाजनिक लेखा समितिले वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टचार भएको ठहर गरेको थियो । यो विषयमा अख्तियारले छानविन गरिराखेको छ भने सरकारले एउटा आयोग बनाएर त्यसलाई निष्कृय बनाएको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि वाइडवडी घोटाला काण्ड सामसुम बनाइएकाे थियाे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४