सुर्खेत- शनिबार । स्कुल र कलेज बन्द । विद्यालय उमेरका केही युवती भेरीगंगा नगरपालिका-१३ रामपुरको हलमा । त्यही हलमा सेतो कपडामा गीता बिसी सुतिरहेकी थिइन् ।
गीतालाई साथीहरुले घेरेका थिए । 'यसरी सुत्दा सहज हुन्छ, खुट्टा अलि फट्याऊ' मीना विक सिकाउँदै थिइन्, 'महिनावारी हुँदा सुत्न पनि जान्नुपर्दछ, नत्र यौनांगलाई असर पर्छ ।' उनका कुरा करिब १३/१४ जना युवती समूहले ध्यान दिएर सुनिरहेको थियो । मीना किशोर अवस्था, प्रजनन स्वास्थ्य, यौनांग लगायतका विषयमा जानकारी दिइरहेकी थिइन् ।
धैरै उत्साह र थोरै संकोच तर छलफलमा सक्रिय थिए उनीहरु । कारण आजसम्म घर र विद्यालयबाट समाधान हुन नसकेको समस्या समाधानको खोजी भइरहेको थियो । छलफल जीवनको महत्त्वपूर्ण अध्याय किशोर अवस्था र स्वास्थ्यसँग केन्द्रित थियो । साथमा जिउने कला र कम उमेरमै विवाह गर्दा अरुले भोगेका पीडाका पोका पनि ।
सहभागीमा किशोर अवस्थाबारे केही समस्या भए समाधानको खोजी हुन्थ्यो नत्र कलिलो उमेरमा विवाह गर्दा भोगेका व्यथा र सफलतका कथा पनि सिकाइन्थ्यो । क्रमैसँग सबैले आफ्ना भनाइ राख्थे । एकातिर फुर्सदको सदुपयोग अर्कातिर केही जीवन उपयोगी कुरा र स्वास्थ्य जानकारी ।
हरेक शनिबार यसरी नै छलफलमा सहभागी हुन्छन् 'जीवनज्योति अविवाहित युवती समूह' का सदस्यहरू । जहाँ महिनावारी चक्र, प्रजनन क्षमता, प्रजनन स्वास्थ्य, किशोर अवस्था, यौन, लिंगजस्ता विषयमा खुलेरै छलफल गर्छन् । कतिपयले आफ्नो यौनांगमा भएका समस्या र समाधानका लागि ज्ञान पनि बाँड्ने गर्छन् ।
'किशोर अवस्थाका र यौनांगमा भएका समस्या घरपरिवारमा भन्न सकिँदैन', समूहकी सदस्य कमला विक भन्छिन्, 'हामी आफ्ना समस्या र समाधान उपायबारे समूहमा खुलेर छलफल गर्छौं ।' विद्यालयमा शिक्षिकासँग भन्न नसकिने समस्या आफ्नै उमेरका दिदीबहिनीसँग भन्न सजिलो हुने उनी बताउँछिन् । उनले भनिन्, 'परिवारमा सबै कुरा भन्न सकिँदैन, अप्ठेरो पर्यो भने आमासँग मात्रै भन्ने हो ।' समूहमा अरुका अनुभव सेयर गर्दा अन्य सदस्यलाई पनि धेरै सहज हुने उनको भनाइ छ ।
'प्रजनन स्वास्थ्य र किशोर अवस्थामा जतिसुकै समस्या आए पनि दाइभाइहरूसँग भनिँदैन', अर्की सदस्य कल्पना बिसी भन्छिन्, 'समूहमा त सानादेखि ठूला समस्या मज्जाले राख्न सकिन्छ ।' घरबाट भन्दा लाज हुने समस्याहरु समूहका साथीभाइ सुनाउन र समाधान गर्न सहज भएको उनको अनुभव छ ।
सहजकर्ता मीना विकका अनुसार रामपुरका १५ देखि २४ वर्ष उमेरका सबै युवती छलफलमा सहभागी हुन्छन् । समूहमा आफ्ना कुरा राख्न संकोच नरहोस् भनेर मनोरञ्जनात्मक कार्यक्रमबाट भेला सुरु गरिन्छ । मनोरञ्जनात्मक क्रियाकलाप गर्दा परिवारमा भन्न नसकेका समस्या समूहमा आदानप्रदान गर्ने अझ सहज हुने उनी बताउँछिन् ।
रामपोखरीमा मात्रै होइन भेरीगंगा नगरपालिका यस्ता ४२ वटा समूह छन् । विवाहित युवती संलग्न 'विवाहित युवती समूह' छ भने अविवाहित युवतीको 'अविवाहित युवती समूह' छ । विवाहित भने प्रजनन स्वास्थ्य, लिंग र लैंगिकता, मानव प्रजनन प्रणाली, गर्भधारणजस्ता विषयमा छलफल गर्छन् ।
भेरीगंगामा सेभ द चिल्ड्रेन र स्याक नेपालको समन्वयमा युवतीहरूको स्वास्थ्य समस्या पहिचान, समाधान तथा जिज्ञासा सम्बोधन गर्ने उद्देश्यले यस्ता समूह गठन गरिएका हुन् । समयमै महिनावारी नहुने, लामो समय रोकिने जस्तासमस्या भएकालाई समूहकै पहलमा स्वास्थ्य संस्थासम्म लिने र स्वास्थ्य परामर्श दिने गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४