काठमाडौं- राजधानीबाट प्रकाशित शनिबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुर दैनिकले विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरता बढ्दा मुलुकलाई १० महिनामा ११ खर्ब घाटा भएको विषयलाई मुख्य समाचार बनाएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भयो । त्यसमा आयात ११ खर्ब ७८ अर्ब १३ करोड र निर्यात ७८ अर्ब ५३ करोड रुपैयाँको भएको छ । जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको हो ।
अघिल्लो वर्षको १० महिनाको तुलनामा २०.०६ प्रतिशतले व्यापार घाटा बढेको छ । आर्थिक वर्ष २०७४÷०७५ को १० महिनामा व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड पुगेको थियो ।विज्ञका अनुसार व्यापार घाटा बढ्नुमा मुख्यतः आयात वृद्धि नै हो । व्यापार घाटा निरुत्साहित गर्न स्वदेशी वस्तुको उत्पादन गरी आयात घटाउने नीति बनाउनुपर्ने पूर्वअर्थ सचिव शान्तराज सुवेदीले बताए ।
१० महिनाको अवधिमा ११ खर्ब ७८ अर्ब १३ करोडको आयात भएको थियो । ७८ अर्ब ५३ करोड रुपैयाँको निर्यात भएको छ । कृषि उत्पादन वृद्धि हुँदा घाटा कम गर्न केही मद्दत हुन सक्ने जानकार बताउँछन् । मुख्य बाली मानिएको धान, मकै, गहुँदेखि तेल अर्बौं रुपैयाँको आयात भएको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा ३०३ सिट जितेको विषयलाई मुख्य समाचार बनाएको छ । उक्त पार्टीको गठबन्धन एनडीएले ३५२ स्थानमा जित हात पारेको छ । जुन दुइतिहाईका लागि ९ सिटले कम हो ।
५४२ सदस्यीय लोकसभामा स्पष्ट बहुमत पाएपछि अब भाजपा नेता नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ।
भारतीय निर्वाचन आयोगका अनुसार भाजपा सन् २०१४ मा भन्दा यसपटक २२ सिट बढीमा विजयी भएको छ। भाजपाको राष्ट्रवादी तथा हिन्दु धर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकाले एकछत्र जित निकाल्न सफल भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४