काठमाडौं – पाँचलाख दिनुहोला है, हैन भने तपाईंको बच्चा अपहरण गरी हत्या गर्छौं। काठमाडौं नयाँबानेश्वरस्थित बुद्धनगर बस्ने सिताराम कार्कीलाई बारम्बार एसएमएस र फोनबाट यस्तो धम्की आइरह्यो। कार्कीले यसबारे प्रहरीमा तत्काल उजुरी दिए र प्रहरीले अनुसन्धान सुरु गर्यो।
कल ट्रयाक गर्दै महानगरीय अपराध अनुसन्धानको टोलीले रुपैयाँ माग्दै धम्की दिने एक प्रेमजोडीलाई बिहीबार गौशालाबाट पक्राउ गर्यो। पक्राउ पर्नेमा कैलाली टीकापुर–९ का २४ वर्षीय लोकेन्द्र बहादुर शाही र रुवी ठाकुर रहेका प्रहरीले जानकारी दिएको छ।
एसएमएस र फोनबाट पाँचलाख रुपैयाँ माग गर्दै नदिए गोलीहानी छोराको हत्या गर्ने धम्की बारम्बार आएपछि कार्कीले प्रहरीमा उजुरी दिएका थिए। सितारामका ११ वर्षीय छोरालाई अपहरण गर्ने र फिरौती नदिए हत्या गर्ने उद्देश्यले दुबै जनाले बालकलाई उनले पढ्ने स्कुल र घरमासमेत पिछा गर्ने गरेका थिए।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सहकुल थापाले पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भैरहेको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४