काठमाडौं – साझा विवेकशील पार्टीले संसद्मा दर्ता गरिएको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन माग गरेको छ। ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर साझा विवेकशीलले सरकारसँग विधेयक फिर्ता लिएर सरोकारवाला निकायसँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानुन निर्माण गर्न माग गरेको हो।
सरकारले आफ्ना असफलतालाई ढाकछोप गर्न मिडियालाई नियन्त्रण गर्न लागेको आरोप लगाउँदै साझा विवेकशीलले विधेयक फिर्ता लिन माग गरेको हो।
पत्रकार सम्मेलनमा साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रले मुलुकको लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रताका लागि अतुलनीय योगदान पु¥याएको प्रेसको घाँटी निमोठ्ने कुनै पनि कदमका विरुद्ध आफ्नो पार्टी सधै मिडियाको साथमा रहने प्रतिवद्धता जनाए। ‘संसद्मा दर्ता भएको विधेयकलाई फिर्ता गरेर सरोकारवाला पक्षसँगको सहमतिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल बनाउनुपर्छ,’ उनले भने, ‘पेलेरै लान्छु भनेर सोच्दै नसोचे हुन्छ, यो लडाइँमा हामी मिडियाको साथमा छौं र रहने छौं।’
साझा विवेकशीलले सरकारको डेढ वर्षे कार्यकाल अलोकप्रिय भएको भन्दै टिप्पणी गर्दै आफ्ना असफलता लुकाउन सरकारले मिडियालाई नियन्त्रणमा लिन खोजेको आरोप लगाएको छ।
मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्ठा अनुदार लोकतन्त्र उन्मुख भएको भन्दै पार्टीले सरोकारवालाहरुसँगको परामर्शमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकुल कानून निर्माण गर्न सरकारलाई सुझाव दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४