जनकपुरधाम – बारा–पर्साका हावाहुरी पीडितहरुलाई प्रदेश १ सरकारले आर्थिक सहयोग गरेको छ। हावाहुरी पीडितलाई आर्थिक सहयोग गर्ने घोषणाअनुरुप प्रदेश १ सरकारले सोमबार एक करोड नगद सहयोग गरेको हो।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनकपुर पुगेर हवाहुरी पीडितका लागि सहयोग रकम बराबरको चेक प्रदेश २ सरकारलाई हस्तान्तरण गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राईले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन्।
उक्त अवसरमा प्रदेश १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपद्मा सानो सहयोग गरेर संकटका घडीमा एकजुट रहेको सन्देश दिन खोजेको बताए।
प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रदेश–प्रदेशबीचको सहकार्य र सम्बन्ध मजबुत बनाउने आधार प्रारम्भ भएको बताए।
बारा–पर्सामा गत चैत १८ गते आएको हावाहुरीबाट २९ जनाको ज्यान गएको थियो भने करौडौैं मुल्यबराबरको धनमाल क्षति भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४