जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी नवमीको अवसरमा जनकपुरस्थित जानकी मन्दिर पुगेर पुजाअर्चना गरेकी छिन्। जानकी नवमीको अवसर पारेर आयोजित समारोहमा सहभागी हुन सोमबार बिहान जनकपुर पुगेकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा करिब १५ मिनेट पूजाअर्चना गरेकी थिइन्।
मधेश आन्दोलन चलिरहेको बेला तीन वर्षअघि विवाह पञ्चमी महोत्सवमा सहभागी हुने क्रममा चर्को विरोधको सामना गर्नु परेकी राष्ट्रपति भण्डारीलाई भने यस पटक जनकपुरमा भव्य स्वागत गरिएको छ। राष्ट्रपति भण्डारीलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए।
जानकी मन्दिरमा पूजाअर्चनापश्चात आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मिथिला परम्पराअनुसार मनाइने जानकी नवमीले समग्र नेपाली जनताबीच उत्साह छर्न मद्त पुर्याउने विश्वास व्यक्त गरेकी छिन्।
मौलिक मिथिलाकला, कालिगढी र संस्कृतिको उत्कृष्ट नमूनाको रुपमा रहेको जानकी मन्दिरमा दर्शन गरेर आफू प्रसत्र भएको समेत उनले बताइन्। जानकी नवमीले नेपालको समाजिक, सांस्कृतिक, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन सहयोग गर्ने भण्डारीले विश्वास व्यक्त गरेकी छिन्। राजर्षी जनक र महर्षी अष्टाबक्रजस्ता विद्वानले जनकपुरबाटै ज्ञानको ज्योति र सहिष्णुताको सन्देश फैलाएको प्रसंग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसको महत्व दीर्घकालसम्म रहिरहने बताइन्।
प्राचिनकाल देखि शिक्षाको क्षेत्रमा अग्रणी रहेको यस क्षेत्रमा सामाजिक विकृति र विभेद विद्यमान रहनु दुःखद रहेको बताउँदै भण्डारीले यसलाई अन्त्य गर्न सबैजना क्रियाशील भएर लाग्नुपर्ने उल्लेख गरिन्।
कृषिको लागि उर्वर भूमि मानिएको यस क्षेत्रमा कृषि उत्पादन र उत्पादकत्वमा कमी आउनु चिन्ताको विषय रहेको भन्दै उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिनुपर्ने बताइन्।
राष्ट्रपति भण्डारी यसअघि मधेश आन्दोलन चलिरहेको बेला विवाहपञ्चमी महोत्सवमा सहभागी हुन तीन वर्षअघि जनकपुर पुगेकी थिइन्। पछिल्लो पटक जनकपुर पुग्दा उनलाई चर्को विरोधको सामना गर्नु परेको थियो। राष्ट्रपतिको विरोधमा उत्रेका केही आन्दोलनकारीले जानकी मन्दिरको गर्वगृहमै तोडफोडसमेत गरेका थिए।
