काठमाडौं- काठमाडौै उपत्यकासहित देशका अधिकांश ठाउँको मौसम बद्लिएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावले आइतबारबाट बद्लिएको मौसम सोमबार बिहानैदेखि धुम्मिएको छ । मौसम धुम्म भएसँगै अनाचक चिसो बढेको छ ।
शनिबारसम्म उपत्यकासहित देशका अधिकांश ठाउँमा उखरमाउलो गर्मी थियो । तराईका जिल्लाहरुमा ४० डिग्री माथि पुगेको तापक्रम सोमबार स्वाट्टै घटेको छ ।काठमाडौं उपत्यकामा ३२ डिग्रीसम्म पुगेको तापक्रम सोमबार अचानक १३ डिग्रीमा झरेको छ ।
तापक्रममा उतारचडाव देखिने गरि भएको मौसम बद्लिको मुख्य कारण पश्चिबाट आएको बादलको प्रणाली भएको मौसमविद् सुवास रिमाल बताउँछन् । उनका अनुसार यो अवस्था भोलिसम्म जारी रहने छ ।
पोखराबाट पूर्व र जनकपुरबाट पश्चिम क्षेत्रमा मौसम धुम्मिएको छ । काठमाडौं उपत्यकासहित मध्य क्षेत्रको मौसममा देखिएको खराबी क्रमश पूर्वतर्फ सर्दै जाने मौसमविद् रिमालले जानकारी दिए । बुधबारसम्म देशका अधिकांश ठाउँमा मेघगर्जनसहित वर्षा हुने छ । तराईका विभिन्न क्षेत्रमा हावाहुरीको समेत जोखिम रहेको उनले बताए ।
जल तथा मौसम विज्ञान महाशाखाका अनुसार सोमबार राति देशभरि आंशिकदेखि सामान्य बदली रहने पश्चिमका पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४