लुम्बिनी – प्रदेश नं. ५ मा यतिबेला लुम्बिनी भ्रमण वर्षको चर्चा चुलिएको छ। लुम्बिनी भ्रमण वर्षको चर्चा प्रदेश ५ मा मात्रै सिमित नभएर देश विदेशसमेतमा पुगेको छ। सोही अनुसार तयारी पनि भइरहेको छ। प्रदेशको मुख्यमन्त्री कार्यलयदेखी सबै मन्त्रालय, स्थानीय सरकारका कार्यलयहरु, मुख्य शहर र सडकहरुमा मात्रै होइन होटल तथा रेष्टुरेन्ट एवं मिडियामासमेत भ्रमण वर्षको चर्चा छ। प्रदेशका १२ जिल्लामा हरेक दिन विहानदेखी साँझसम्म भइरहेका हरेक कार्यक्रमका वक्ताहरुले पनि भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्ने गरेका छन्।
प्रदेश ५ मा भ्रमण वर्षले हर्षको बहार ल्याएको लुम्बिनी भ्रमण वर्षकोसमेत संयोजक रहेका उद्योग, वन तथा पर्यटन मन्त्री लिला गिरीले बताए। मन्त्री गिरीले भने, ‘लुम्बिनी भ्रमण वर्षले प्रदेशमा मात्रै नभएर देशव्यापी रुपमा पर्यटन व्यपारमा तरंग सृजना गरेको छ। यसले हरेक वर्गका मानिसमा खुसीको बहार ल्याएको छ। सबैको सहभागीताले यो कार्यक्रम फलदायी पनि हुनेछ।’
यतिबेला प्रदेश ५ मा देशैभरका पर्यटन व्यवसायीको चासो केन्द्रीत भइरहेको छ। पर्यटनलाई समृद्धिको मूल आधार बनाएर अगाडी बढिरहेको प्रदेश सरकारले आगमी जेठ ४ गते बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गर्दै छ। भ्रमण वर्षको पूर्वसन्ध्यामा प्रदेश सरकारले विभिन्न समिति तथा उपसमिति मार्फत गतिविधि पनि गरीरहेको छ।
लुम्बिनीका सद्भावना दूतसमेत रहेका पर्यटन व्यवसायी विक्रम पाडें (काजि) ले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षले देशविदेशमा पर्यटन व्यपारमा तरंग सृजना गरेको बताए।
पाडेंले लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेश ५ को लागी मात्रै नभएर सिंगो देशकालागी नै पर्यटन पर्व भएको बताए। उनले भने, ‘भगवान बुद्धले हरेक काम गर्दा लुम्बिनीबाट शुरु गर्नु भनेका थिए। नेपालमा पनि पर्यटन पर्वको शुरुवात लुम्बिनीबाटै शुरु भएको छ। यसले देशव्यापी सफलता प्राप्त गर्दछ। ’
होटल व्यवसायीको रोड शो
बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण बर्ष २०७६ को पुर्व सन्ध्यामा सिद्धार्थ होटल एशोसियसन, नेपाल (सान) को नेतृत्वको टोली देशैभर सडक प्रदर्शनी गर्ने भएको छ । सोही क्रममा एशोसियसनको नेतृत्वमा लुम्बिनीसंग सरोकारित विभिन्न निकायका प्रतिनिधी सहभागी ३० सदस्यीय टोली देशका विभिन्न भागमा पुगेर एक चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ । रोड शो को टोलीले पाल्पा, स्याङ्जा, पोखरा, दमौली र काठमाण्डौंमा पुगी जनप्रतिनिधीको सहभागीतामा रयाली गरेको हो । उक्त कार्यक्रमका संयोजक समेत रहेका सानका सचिव रबिन्द्र शर्मा घिमिरेका अनुसार पाल्पामा तानसेन नगरपालिकाका प्रमुख अशोक शाहि, स्याङ्जाको पुतलीबजारमा नगर प्रमुख सीमा क्षेत्री, पोखरमा गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साल, दमौलीमा नगरपालिका उपप्रमुख मिरा जोसीको सहभागीतामा बाजा गाजा सहित बुद्धको प्रतिमा लिएर बजार परिक्रमा गरिएको थियो ।
यसैगरी काठमाण्डौंमा सांसद घनश्याम भुसाल, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टाराई, पुर्वमन्त्री दीपक बोहरा, प्रदेश सांसद विष्णु पन्थिको सहभागितामा रोड शो सम्पन्न भएको हो । प्रदेश नं ५ सरकारले घोषणा गर्न थालेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सफल पार्न सानले चार चरणको सडक प्रदर्शनी कार्यक्रम तय गरेको भ्रमण कार्यदलका संयोजक समेत रहेर्का घिमिरेले बताए ।
संयोजक शर्माका अनुसार पहिलो चरणको कार्यक्रमको प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरीले परेवा उडाएर उद्घाटन गरेका थिए । रोड सो ( सडक प्रदर्शनी) मा पन्चेबाजा बजाउदैं स्थानिय जनप्रतिनिधी, पर्यटन व्यवसायी, पत्रकार सहित बुद्धको प्रतिमा एवं तस्वीर प्रदर्शनी गरिएको र ठाउठाउमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको आयोजकले बताएका छन् ।
यसैगरी दोस्रो चरणको कार्यक्रम अन्र्तत नारयणघाट, हेटौडा, बिरगन्ज, जनकपुर, इटहरी हुदै पुर्व मेची सम्म लुम्बिनी भ्रमण बर्षको प्रचारार्थ सडक प्रदर्शन हुने छ । यसैगरी तेस्रो चरणमा दांग, नेपालगन्ज, महेन्द्रनगर र सुर्खेतमा कार्यक्रम हुने छ । यसैगरी चौथो चरणमा भारतको कुशिनगर, बनारस र सारनाथमा सडक प्रदर्शन गरिने लुम्बिनी भ्रमण बर्ष मूल आयोजक समिती सदस्य समेत रहेका होटल एशोसियसन नेपालका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठले बताए ।
मायादेवी प्रसुति उत्सव
तिलौराकोटमा शुद्ध शाहाकारी खाना महोत्सव सहित जेठ ५ गते मायादेवी प्रसुति उत्सव गरिने भएको छ। उक्त कार्यक्रमका संयोजक सन्जय बजिमयका अनुसार लुम्बिनीदेखी तिलौराकोटसम्म विभिन्न झाँकि र र्यालीसहित कार्यक्रम गरिने तयारी छ। उक्त क्षेत्रलाई सुत्केरी मार्गको रुपमा विकास गरि अगाडी बढ्न पनि यो कार्यक्रमले सघाउ पुग्ने देखिन्छ। लुम्बिनी क्षेत्रमा पर्यटक बसाई लम्बाउन मायादेवी प्रसुति उत्सव कार्यक्रम उपलब्धीपूर्ण हुने नाट्टा प्रदेश ५ का उपाध्यक्षसमेत रहेका बजिमयले बताए।
प्रसुति उत्सव अन्र्तगत जेठ ५ गते कपिलवस्तुको दोहनीदेखी तिलौराकोटसम्म भब्य स्वागत कार्यक्रम गर्ने कार्यक्रम तय भएको छ। यसैगरी छ महिनापछि पास्नी महोत्सव तथा देवदहलाई निम्ता गरी मावली भेटघाट जस्ता गतिविधि गर्ने तयारी गरेको सो कार्यक्रमकी सहसंयोजक गीता अन्जानले बताइन्।
प्रदेशलाई निम्तो
पत्रकारहरुको नेतृत्वमा देशका ७ वटै प्रदेशका पर्यटनमन्त्री मार्फत प्रदेशबासीलाई निम्तो दिने कार्यक्रम सम्पन्न भएको छ। ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ मनाउन थालिएको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर उद्योग, पर्यटन मन्त्रालयद्वारा गठीत प्रचारप्रसार उपसमितिले प्रदेशका विभिन्न जिल्लामा पुगेर निम्तो बाँडेको छ।
प्रचारप्रसार समितिले प्रदेश १ को राजधानी विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को नेपालगञ्ज, बुटवल, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतलगायतका जिल्लामा पुगेर लुम्बिनी भ्रमणको निम्तो दिएको प्रचारप्रसार उपसमितिका संयोजक भरत केसीले जानकारी दिए। उक्त समितिले प्रदेशका मन्त्री, पर्यटन व्यवसायी, पत्रकार तथा स्थानीय अगुवामार्फत् प्रदेशवासीलाई लुम्बिनी भ्रमणको निम्तो दिएको हो।
सुजता खीर महोत्सव
लुम्बिनी भ्रमण वर्षको अवसर पारेर पहिलो पटक लुम्बिनीमा सुजता खीर महोत्सव कार्यक्रम गरिदैछ। निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर जिर्ण भइसकेको अवस्थामा सुजता नामक युवतिले खीर खुवाएपछि सोहि रात ज्ञान प्राप्त भएको घटनालाई उत्सवको रुपमा मनाउन थालिएको हो।
उक्त महोत्सव संयोजक उद्योग व्यवपार संगठनकाका निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीका अनुसार सुजता खीर महोत्सवमा आगमी जेठ ३ गते लुम्बिनीमा आउने पाहुनाहरुलाई खीर खुवाउने कार्यक्रम रहेको छ। कार्यक्रमका संयोजक खत्रीले भने, ‘जेठ ३ गते लुम्बिनीमा र ५ गते कपिलवस्तुमा सुजता खीर महोत्सव हुन्छ। त्यहांँ उपस्थित सबै पाहुना र कार्यक्रममा सहभागीलाई खीर खुवाउने तयारी छ।’
लुम्बिनीको सौन्दर्यकरण बढाउँदै
लुम्बिनी भ्रमण वर्षमा बुद्ध भूमि लुम्बिनीलाई सुन्दर र सफा राख्न विशेष समिति मार्फत सक्रियता पूर्वक कार्यक्रम अगाडी बढाइएको छ। प्रदेश सरकारले नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) का उपाध्यक्ष सागर अधिकारीको संयोजक र पर्यटन व्यवसायी सहितका व्यक्तिहरु सदस्य रहेको सौन्दर्यकरण उपसमिती गठन गरेको छ। उक्त समितिले पनि सरसफाई र लुम्बिनीको सौन्दर्यता बढाउन विशेष सक्रियता पुर्वक काम गर्ने योजना बनाइरहेको छ।
जेठ ४ गते बुद्धजयन्तीको अवसर पारेर लुम्बिनीमा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। बुद्ध जयन्ती तथा भ्रमण वर्ष शुभारम्भ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सघीय सरकारका मन्त्री र प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, विभिन्न दलका नेता, विभिन्न देशका प्रतिनिधी तथा बौद्ध धर्मालम्बीको सहभागीता रहने छ।
भ्रमण वर्ष अन्तर्गत लुम्बिनी फुड फेस्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिकयात्रा , त्रिपिटिक वाचन , योग तथा ध्यान शिविर जस्ता कार्यक्रम पनि बर्षैभरी भइरहने छन्।
प्रदेश सरकारले भ्रमण वर्ष सम्पन्न गर्न चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ। कूल बजेटमध्ये चालू आर्थिक वर्षमा दुई करोड २७ लाख ९० हजार र आगमी वर्ष एक करोड ९१ लाख ७० हजार खर्च गर्ने लक्ष्य लिएको छ। यद्यपी आगमी वर्षको बजेटमा थप बजेट माग गर्ने पनि देखिन्छ।
नेपाल सरकारले सन् २०२० लाई भिजीट नेपाल बर्षको रुपमा मनाउन लागिएको कार्यक्रमको आधार तय गर्न लुम्बिनी भ्रमण वर्षले सघाउने मुख्य उद्देश्य रहेको छ। भ्रमण वर्षले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई लुम्बिनी क्षेत्रमा आउने पर्यटकको सङ्ख्या र उनीहरूकोे बसाई लम्बिने, स्थानीय उत्पादनको व्यवसाय बढ्ने, रोजगारी सिर्जना हुने र पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने प्रदेश सरकारले अपेक्षा लिएको पर्यटन मन्त्रालयका सचिव धनन्जय पौडेलले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४