जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरु हड्तालमा उतरेपछि जनप्रतिनिधिहरु आफै सरसफाई कार्यमा जुटेका छन्। बाँकी रहेको पछिल्लो चार महिनाको तलब भुक्तानी गर्न माग राख्दै सफाइ कर्मचारीहरु आन्दोलनमा उतरेका छन्।
जानकी नवमीको पूर्वसन्ध्यामा सफाइ कर्मचारीहरु आन्दोलनमा उतरेपछि जनप्रतिनिधिहरु आफै सरसफाइमा जुटेका छन्। मेहतर, कुचिकारलगायतका सफाइ कर्मचारीहरु हड्तालमा उतरेपछि जनकपुरधाम उपमहानगरपालिका–१० का जनप्रतिनिधिहरु आइतबार जानकी मन्दिर वरिपरी क्षेत्रमा सरसफाइ गरेका छन्।
बाँकीबक्यौता भुक्तानीको माग गर्दै सफाइ कर्मचारीहरु हड्तालमा उतरेपछि बाध्य भएर सफाइमा उत्रिनु परेको वडा नम्बर १० का वडाध्यक्ष मिथिलेश कर्णले बताए।
‘भोली जानकी नवमी मनाइँदै छ, सयौंको संख्यामा श्रद्धालुहरु जानकी मन्दिर आउने छन्,’ कर्णले भने,‘जानकी मन्दिर आउने श्रद्धालुहरुका लागि पनि सफाइ गर्नु परेको छ।’ वडामा निर्वाचित सदस्यहरुको सहयोगमा जानकी मन्दिर वरिपरि क्षेत्रमा सरसफाइ गरिएको उनले बताए।
उपमहानगरपालिका कार्यालयमा ज्यालादारीमा कार्यरत सफाइ कर्मचारीहरु विगत चार महिनादेखि बाँकी रहेको तलब भुक्तानी गर्न माग गर्दै आइतबार दोस्रो पटक धर्नामा बसेका हुन्। ४७ जना सफाइ कर्मचारीका साथै नगर प्रहरी २० जनाका साथै करारमा कार्यरत २५ जना कर्मचारीसमेत धर्नामा बसेका छन्। बाँकिबक्यौता तलब दिन माग राख्दै यसअघिपनि सफाइ कर्मचारीहरु आन्दोलन गरेका थिए। बाँकी रहेको तलब भुक्तानी गर्न उपमहानगरपालिकाले सहमति जनाएपनि सहमति कार्यान्वयन गर्न नमानेको उनीहरुको भनाइ छ।
यता उपमहानगरपालिकाले सोमबार जानकी नवमी रहेको र राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने भएकोले सहयोग गर्न आग्रहगरेपछि धर्नामा बसेका सफाइ कर्मचारीहरु हड्ताल स्थगित गरेको बताइएको छ। नगर प्रमुखले दुई दिनभित्र तलबसम्बन्धी समस्या समाधान गर्ने आश्वासन दिएको उनीहरुको भनाइ छ।
संघीय सरकारले माघ ९ गतेदेखि दैनिक ज्यालादारी कर्मचारी हटाउन पत्र पठाएकोले यस्तो समस्या आइपरेको उपमेयर रीता मिश्रले बताइन्। उपमहानगरपालिका कर्मचारीहरुको तलबसम्बन्धी समस्या समाधान गर्न लागि परेको उनको भनाइ थियो।
यता आन्दोलनरत सफाइ कर्मचारीहरुले भने करारमा कर्मचारी नराख्न थाह हुँदहँुदै काममा किन लगाइयो भन्दै उपमहानगरपालिकालाई प्रश्न गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४