काठमाडौं – स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै विधेयक सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ।
सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटोले मिडिया नियमनका लागि संघीय संसदमा दर्ता गरेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को विरोध गर्दै महासंघले विभित्र संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ।
शुक्रबार बसेको महासंघको केन्द्रीय समितिको आकस्मिक बैठकले प्रतिनिधिसभामा दर्ता गराइएको विधेयकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने ठहर गरेको छ।
महासंघले उक्त विधेयकविरुद्ध संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ। संघर्षका कार्यक्रमअन्तर्गत वैशाख २९ गते महासंघका पूर्वपदाधिकारी, सञ्चारमाध्यमका सम्पादक, कानूनविद् र विज्ञहरुसँग छलफल गर्ने निर्णय महासंघले गरेको छ। यसैगरी वैशाख ३० गते संसदका सभामुखक, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाइने महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
वैशाख ३१ गते संसदका सम्बन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल, जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने र महासंघको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा शाखा कार्यालयमे सरोकारबलाहरुसँग वृहद छलफल, जेठ ३ गते काठमाण्डौंमा संसद बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित वृहद प्रदर्शन गर्ने कार्यक्रमको घोषणा महासंघले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४