डोटी- डोटीको शिखर नगरपालीकाका छात्राहरुलाई द्वारिका देवी ट्रष्ट (पश्चिम महिला जागरण समुह)ले पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । ट्रष्टले बुधबार एक कार्यक्रमको आयोजना गरी छात्राहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।
शिखर नगरपालिका अन्तर्गत रहेका प्रत्येक वडाका एक विद्यालयबाट प्रत्येक कक्षाका एक-एक जना जेहन्दार तथा आर्थीक अवस्था कमजोर भएका दुई सय भन्दा बढी छात्रालाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको ट्रष्ट डोटीकी अध्यक्ष प्रतिमा शाहले जानकारी दिइन् ।

लामो समय देखी क्रियाशिल रुपमा संलग्न क्षेत्र मध्य शिक्षालाई प्रमुख क्षेत्र बनाएको द्वारिका देवी ट्रष्टले विभिन्न सरकारी विद्यालय र विद्यार्थी हरुलाई छात्रावृद्दि प्रदान गर्दै आईरहेको छ । ट्रष्टले विभिन्न संस्थाहरुको समन्वयमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी तथा सरसफाई जस्ता क्षेत्रहरुमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
शैक्षिक सामाग्री वितरणका क्रममा अध्यक्ष शाहले अबका दिनमा यस्ताखाले कार्यक्रम डोटीका सबै विद्यालयमा लागु गर्ने प्रतिवद्दता समेत जनाइन् । त्यसैगरी, ट्रष्टले गरिब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर सराहनीका कार्य गरेको भन्दै शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले प्रशंसा गरे ।

गुरु यु पण्डितानन्द एजुकेशन रोटरी क्लब पोखरा, रोटरी क्लब धुलिखेल र रोटरी क्लब भादगाँउको सहयोगमा उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो । त्यसैगरी रोटरी क्लब भादगाँउकी पुर्व अध्यक्ष सुलोचना सिग्देलले यो बाहेक द्वारिका देवि ठाकुरानी ट्रष्टले विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको र कार्यक्रमको प्रमुख उद्देश्य गरिबीमा रहेका विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउनु, विद्यालयमा विद्यार्थीहरुको उपस्थिति सुनिश्चित गर्नु, शिक्षामा पहुँचका लागि समुदायलाई उत्तरदायी बनाउनु र आर्थिक रुपमा उनिहरुको परिवारलाई सशक्त बनाउनु रहेको बताइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४