काठमाडौं – नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश सस्ता उखान टुक्का र व्यङ्ग्यले नचल्ने बताएका छन्। कांग्रेसले बुधबारबाट सुरु गरेको देशव्यापी जनजागरण अभियान अन्तर्गत भक्तपुरको दूधपाटीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै रिजालले प्रधानमन्त्रीलाई प्रहसनको पात्र नबन्न आग्रहसमेत गरे।
प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारी भुलेर कलाकारितामा लागेको भन्दै उनले प्रधानमन्त्री ओलीलाई सपनाको दुनियाँबाट बाहिर निस्कन आग्रहसमेत गरे। उनले भने, ‘प्रहसनको पात्र नबन्नुस्, देशमा कलाकारहरुको ताँती छ, देश उखान टुक्का र कलाकारिताले चल्दैन।
प्रधानमन्त्री ओली राजा महाराजको कित्तामा पुग्दै गरेको आरोप लगाउँदै उनले जनताले अब राजा महाराज नचाहेको बताए।
कांग्रेसलाई सत्ता नचाहिएको बताउँदै नेता रिजालले जागरण अभियान सत्ताका लागि नभई जनतामा जागरण ल्याउन गरिएको बताए। नागरिकले सत्तामा पठाएको नेकपा नेतृत्वको सरकारले नागरिकको चाहनाअनुरुप काम गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४