काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महिनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन्। प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा उनले यही ‘मे’ महिना (जेठ १७) भित्रै सञ्चालनमा ल्याउने गरी दुबै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताए।
तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले तातोपानी नाकामा अब थोक व्यापार बढी हुने उल्लेख गरे। गोरखा भूकम्पले क्षतिग्रस्त भएपछि उक्त नाका त्यसयता सञ्चालनमा आउन सकेको थिएन। सांसदको जिज्ञासापछि उनले चीनसँगका अन्य नाकाको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका थिए। मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको यही वैशाख ११ देखि १८ गतेसम्मको चीनको राजकीय भ्रमणबारेमा समितिमा जानकारी दिँदै त्यसमा महत्वपूर्ण उपलब्धि भएको बताए।
ज्ञवालीले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत नेपालले लिन सक्ने पारस्परिक लाभका बारेमा प्रकाश पार्दै भारत र चीनसँग नेपालको एक मात्र स्वार्थ भनेको दुबै मुलुकसँग जोडिएर विकास गर्नु हो भने।
मन्त्री ज्ञवालीले नेपालले आफूले नगरेको गल्तीस्वरुप जलवायु परिवर्तनका असरको सामना गर्नुपरेका सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको छलफल गर्नका लागि सो सगरमाथा संवाद अघि सारिएको धारणा व्यक्त गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यही वैशाख २६ गतेदेखि हुने भियतनाम र कम्बोडियाको भ्रमणका बारेमा समेत बैठकमा जानकारी दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४