धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले बुधवार देखि नगरमा ग्रीन क्लीन अभियान सुरु गरेको छ। उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बुधबार एक कार्यक्रमकाबीच उपमहानगरपालिका–८ को क्याम्पस चोकमा अभियानको उद्घाटन गरे।
उपमहानगरले अभियान सुरु गरेसँगै अव उपमहानगरपालिका क्षेत्रमा निर्माण हुने नीजि तथा सरकारी घरमा हरियो रंग लगाउन सबैलाई अनुरोध गरेको छ। घरमा लगाईने जस्ताहरु पनि हरियो रंगको नै लगाउनु पर्ने छ। धनगढी उपमहानगरपालिकाको अफिसियल रंग अब हरियो भएको बताउँदै नगरप्रमुख वडले अब नयाँ निर्माण हुने नगरका संरचनामा पनि हरियो रंग नै प्रयोग गर्न आग्रह गरे।
यस अभियानमा एक घर दुई बिरुवा रोप्नुपर्ने कुरालाई पनि राखिएको छ। धनगढी उप–महानगरपालिकाले यसका लागि गत वर्ष मात्रै विभिन्न वडामा २० हजार लिची र आँपका बिरुवा वितरण गरेको थियो। उपमहानगरपालिकाले अनिवार्य दुईवटा फलफुलका बिरुवा रोपेमा मात्रै घर सम्पन्नको प्रमाणपत्र दिने व्यवस्थासमेत गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष नारायण प्रसाद बरालले बिजया सिमेन्ट प्राली. को प्रायोजनमा वडा नं ८ को क्याम्पस चोक क्षेत्रमा निजीघरहरुमा हरियो रंग लगाउन सुरु गरिएको बताए। धनगढीलाई सफा राख्नका लागि धनगढी उपमहानगरपालिका र कैलाली उद्योग बाणिज्य संघले हरेक १५ दिनमा धनगढी नगर सरसफाई अभियानसमेत सुरु गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४