काठमाडौं- आज वैशाख २३ गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
पोखराका पर्यटन ब्यवसायीहरुले लुम्बिनी भ्रमण वर्ष २०७६ सफल पार्ने प्रतिवद्धता व्यक्त गरेका छन्। लुम्बिनी भ्रमण वर्षका लागी रोड शो कार्यक्रम लिएर पोखरा पुगेको सिद्धार्थ होटल एशोसियसन नेतृत्वको रोड शो टोलीसँग अन्तरक्रिया गर्दै पोखराका पर्यटन ब्यवसायीले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
जनकपुरधाम उपमहानगरपालिकाले डाकेको तेस्रो नगरसभा वडाध्यक्ष र वडा सदस्यहरुले बहिष्कार गरेका छन्। चालू आर्थिक वर्षको आयव्यय र आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम पारित गराउन उपमहानगरपालिकाले सोमबार डाकेको नगरसभा वडाध्यक्ष तथा सदस्यहरुले बहिष्कार गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गगरेका छन्। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको सोमबारको छलफलका क्रममा उनले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको बताएका हुन्।
ब्यापारीबाट पत्रकारमाथि भएको कुटपिटको बिरोधमा कैलालीका पत्रकार आन्दोलित भएका छन्। स्वतन्त्र रुपमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
विमला गुरुङ (२९) को बिहान ५ बजे दैनिकी सुरु हुन्छ। पति र छोरीलाई चियानास्ता खुवाएर निस्केपछि उनी साँझ साढे ७ बजे घर फर्किन्छिन्। गृहिणी र अन्य जागिरे महिलाको जस्तो सहज छैन उनको जीवन। तैपनि यसमै रमाइरहेकी छन्।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिन आएका लुम्बिनीबासीसँग पाल्पा र स्याङ्जाका नगरप्रमुख रोड सोमा सहभागी मात्रै नभएर पन्चेबाजामा छमछमी नाचेका छन्। बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्दै लुम्बिनीबासी लुम्बिनी भ्रमण वर्ष २०७६ को निम्तो दिन पाल्पा र स्याङ्जाका स्थानीय सरकार र स्थानीयबासीसँग भेटघाट गरेका हुन्।
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान दमकमा मात्रै सिमित भएको बताएका छन्। सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै गगनले भने, ‘अब समृद्ध नेपाल सुखी नेपाली होइन ‘समृद्ध दमक सुखी केपी ओली’ भन्नु पर्ने बेला आएको छ।
नेपाली कांग्रेसको जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म हुने भएको छ। सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले तीन चरणमा जागरण कार्यक्रम सञ्चालन गर्ने जनाएको हो।
नवगठित समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस–नेकपा बेत बसेका गाईजस्तै भएकाले अब तिनलाई छाडेर आफ्नो पार्टीमा समाहित हुन आमजनतालाई आग्रह गरेका छन् ।
एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल ल्याइएको छ। चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा शिशु जन्माएकी थिइन्।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले सोमबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरे।
राजधानीको गल्फुटारस्थित न्यु कर्णाली होस्टेलका सञ्चालक जयबहादुर बिक फरार भएपछि अलपत्र परेका १९ बालवालिकालाई प्रहरीले उद्धार गरेको छ। पढाइदिने भन्दै बिभिन्न जिल्लाबाट काठमाडौं ल्याइ होस्टेलमा अलपत्र पारिएको बालबालिहरु रुन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
नेपाल प्रहरीका केही वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको जिम्मेबारी फेरबदल भएको छ। प्रहरी मुख्यालयले काठमाडौं प्रहरी परिसर,अपराध महाशाखा, लागू औषध नियन्त्रण व्यूरोलगायतका महत्वपूर्ण स्थानमा नेतृत्व परिवर्तन गरेको छ।
उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजबादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिबीच सोमबार (आज) एकता हुँदै छ।
विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन संसद्मा प्रस्ताव पेश भएसँगै विराटनगरमै आमहड्ताल गरिएको छ । आइतबार पेश भएको प्रस्ताव पारित गर्नका लागि दवाव दिने उद्देश्यले विभिन्न दल र नागरिक अगुवाहरुले हड्ताल गरेका हुन् ।
म्याग्दीको धौलागिरि गाउँपालिका-५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।
शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ ।
भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला इञ्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ ।
भूकम्प पछिको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ लागि रु एक खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ ।
रुसको मस्कोमा आपतकालीन अवतरण गर्ने क्रममा विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ।
गत मार्चमा अस्ट्रेलियाको अर्नहेम हाइवेमा नजिकैको ‘हम्पटी डो’ नामक सहरमा तीन आँखा भएको अजिंगर भेटियो । उक्त अजिंगरलाई नर्थन टेरिटोरी पार्क एन्ड वाइल्ड लाइफले संरक्षणमा राखेको थियो।
संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक विज्ञप्तिमा इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४