काठमाडौं-
घटना १ : ‘साथीकहाँ भिण्डी लिन जान्छु’ भन्दै एकाबिहानै घरबाट हिँडेकी चितवनकी सुजिता भण्डारी ९ दिनसम्म बेपत्ता भइन्। उनको अस्पष्ट फोन कलले अपहरणको आशंकासमेत गर्यो। नौ दिनपछि जब स्थानीय ब्रह्मास्थानी सामुदायिक वनमा उनको शव फेला पर्यो, घटना झन् रहस्यमय बन्यो।
शव नजिकै विषादीको बट्टा त भेटियो तैपनि हत्या हो या आत्महत्या भन्नेमा प्रहरी नै अलमलमा पर्यो। उता स्थानीयको आन्दोलन र जनदबाबले पैदा गरेको तनाव त छँदै थियो। तैपनि प्रहरी अनुसन्धान आफ्नै लयमा अघि बढ्यो। जब सुजिताकै परिवारले छोरीको आत्महत्या भएको स्वीकार्दै दुरुत्साहनमा जाहेर दियो, त्यसपछि घटनाले नयाँ मोड लियो।
प्रहरी अनुसन्धानबाट सुजिता ठूलोबुबाको छोरा सुकदेव भण्डारीसँग प्रेम सम्बन्धमा रहेको र सुकदेवले बिहे गर्न नमान्दा आत्महत्या गरेको नयाँ तथ्य खुल्यो। त्यतिमात्रै होइन, केही महिनाअघि रेस्टुरेन्टमा काम गर्ने सुकदेव र सुजिता काठमाडौंस्थित फ्ल्याटमा एकसाथ बसेको रहस्य खुल्यो। सुजिताले ‘बिहे गरौं नत्र मरिदिन्छु’ भनेर दबाब दिएपछि सुकदेवले उनलाई फकाएर चितवन पठाएका रहेछन्।
चितवन जानुअघि उनीहरुले ‘अपहरण’ मा परेको कथा बनाएर सुटुक्क बिहे गर्ने योजनासमेत बनाएका रहेछन्। तर, सुकदेवले ‘मरे पनि फरक पर्दैन’ भनेर सुजितालाई म्यासेज पठाए, त्यसपछि उनीहरुका सबै योजना तुहिए। अनि, सुजिताले एकान्त जंगलमा पुगेर संसार त्याग्ने निर्णय गरिन्। चितवन प्रहरी सुकदेवकै कारण सुजिताले आत्महत्या गरेको निष्कर्ष निकाल्दै आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी गरिरहेको छ।
घटना २ :
दुई साताअघि अभिनेत्री जेनी कुँवरले काठमाडौं, थापागाउँस्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरिन्। ‘जिन्दगानी’, ‘जीवनदाता’, ‘मैदान’ लगायत फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय अभिनयबाट टाढा थिइन्। डिप्रेसनको औषधि लिइरहेकी थिइन्। रंगीन दुनियाँको चमकदमक त्यागेर अध्यात्मतिर लागेकी उनी युट्युबतिर माताका रुपमा पनि भाइरल थिइन्। जेनीका श्रीमान् मानबहादुरले प्रहरीलाई दिएको बयानअनुसार उनी एक वर्षदेखि मानसिक समस्याको औषधि लिइरहेकी थिइन्।
यी दुई त ताजा उदाहरणमात्रै हुन्, पछिल्लो समय ‘आत्महत्या’का घटना दिनानुदिन बढिरहेका छन्। प्रहरी प्रधान कार्यालयको ‘अपराध ग्राफ’ लाई नियाल्दा पछिल्ला दुई वर्ष आत्महत्याका घटना बढिरहेका छन्। तथ्यांकअनुसार आव ०७५/०७६ मा ५ हजार ७ सय ५४ ले आत्महत्या गरेका थिए भने ०७६/०७७ मा त्यसको संख्या बढेर ६ हजार २ सय ४१ पुग्यो। आव ०७७/०७८ को जेठसम्म अर्थात् पछिल्लो ११ महिनाको मात्रै तथ्यांक हेर्दा आत्महत्याको संख्या झन् बढेको छ, अर्थात् ६ हजार ३ सय १६ पुगेको छ।
देशले पछिल्लो डेढ कोरोना महामारी र लकडाउन सामना गर्नुपर्यो। लकडाउनकै कारण उत्पन्न आर्थिक अभाव र बेरोजगारीले धेरैलाई डिप्रेसनको अवस्थामा पुर्यायो। त्यही मानसिक समस्याका कारण पनि अन्य अपराध घटना भइरहँदा आत्महत्या बढेको हुनसक्ने प्रहरी प्रधान कार्यलयका प्रवक्ता एसएसपी वसन्तराज कुँवर विश्लेषण गर्छन्।
‘हामीकहाँ के कारणले मान्छेले आत्महत्या गरिरहेको छ, खास अध्ययनअनुसन्धान भएको पाइँदैन। सम्भावित कारण खोजियो भने त्यसले पक्कै यो संख्या घटाउन मद्दत पुग्छ।’
मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको मत पनि त्यस्तै छ। ‘विश्वभर लकडाउनले मानसिक स्वास्थ्यको समस्या बढायो, त्यही कारण आत्महत्या बढेको हुनुपर्छ,’ उनी भन्छन्, ‘हामीकहाँ के कारणले मान्छेले आत्महत्या गरिरहेको छ, खास अध्ययनअनुसन्धान भएको पाइँदैन। सम्भावित कारण खोजियो भने त्यसले पक्कै यो संख्या घटाउन मद्दत पुग्छ।’
उपाध्यायले भनेझैं कोरोनाकै कारण पनि आत्महत्याको संख्या बढेको हुन सक्छ। महामारीकै समय भएका केही घटना यसको उदाहरण हुन सक्छन्। जस्तो– अघिल्लो वर्ष अर्घाखाँची र बझाङमा क्वारेन्टिनमै बस्दै आएका पुरुषले आत्महत्या गरेका थिए। कोरोना परीक्षण गराउँदा परिणाम पोजिटिभ आएपछि अर्घाखाँचीका ४३ वर्षीय दुवबहादुर विकले क्वारेन्टिननजिकै झुण्डिएर आत्महत्या गरेका थिए। उनी जेठ १४ गते भारतको पञ्जाबबाट आएर स्थानीय हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए।
बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ मजखोरी माविमा क्वारेन्टिनमा बसेका ३० वर्षीय युवकले पनि क्वारेन्टिनमै आत्महत्या गरेका थिए। क्वारेन्टिन क्षेत्रमा कोही पनि प्रवेश नगरून् भन्ने उद्देश्यका साथ त्यहाँ एउटा डोरीको बार हालिएको थियो। तर, त्यही डोरीको सहयोगमा ती युवकले झुण्डिएर आत्महत्या गरेका थिए। उनी पनि क्वारेन्टिनमा बस्नु तीन दिनअघि मात्रै भारतको बेंग्लोरबाट फर्किएका थिए।
आफ्नैले रोपिरहेछन् छुरा
भावना मान्छेलाई नजिक बनाउने अस्त्र हो। कोसौं टाढाको मान्छे पनि भावनाकै कारण सम्बन्धमा जोडिन्छ, मित्र बन्छ, प्रेम गर्छ, घरजम गर्छ। ‘तेरो लागि त ज्यान दिन्छु,’ आफ्ना प्रिय मान्छेका लागि यतिसम्म प्रतिबद्ध हुन्छन् मानिस। तर, विडम्बना अहिले आफ्नैले आफ्नालाई सिध्याइरहेका घटना बढिरहेका छन्।
आफ्नै मान्छेबाट डराउनुपर्ने कस्तो असुरक्षित समय हो यो? प्रहरी चकित छ। ‘पतिले पत्नीको, प्रेमीले प्रेमिकाको, छोराले बाउको, साथीले साथीको ज्यान लिने घटना बढिरहेका छन्,’ प्रहरी प्रवक्ता कुँवर भन्छन्, ‘मसिना विवाद, सामान्य भनाभन, शंका–उपशंका, अविश्वास आदिकै कारण यहाँ आफ्नैले आफ्नैलाई सिध्याइरहेका छन्।’
एक महिनाअघिकै घटना सम्झौं न। महोत्तरीको लोहारपट्टीस्थित भ्रमरपुरा गाउँकी सुजिता ठाकुरलाई उनकै पति र देवर मिलेर हत्या गरेको तथ्य खुल्यो। घटनाको पछि दिनपछि खेतमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो। यसबारे अनुसन्धान भइरहेको छ।
पतिले अर्कैको बच्चा भन्दै स्वीकार गर्न नमानेपछि एक साताअघिमात्रै मोरङस्थित रंगेली, आपँगाछीकी खुश्बु मण्डलले आफ्नै बच्चाको हत्या गर्न बाध्य भइन्। पतिसँग विवाद भएपछि जन्म दिएको एक घण्टामै ब्ल्यांकेटले घाटी थिचेर उनले नवजात शिशुको हत्या गरिन्।
शिशुको हत्या दिउँसो गरिए पनि वरिपरि कसैले थाहा नपाऊन् भनेर राति १ बजेतिर सुटुक्क गाडिएको थियो। ‘नजिकै रहेको चाँदनी चोकमा एउटा सानो टिनको छानोजस्तो घर रहेछ, खुश्बु, खुश्बुका बुबाआमा र उनका पति मिलेर शवलाई त्यहाँ लगेर गाँडेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने।
प्रहरीले यतिखेर हत्यामा संलग्न रहेको अभियोगमा खुश्बुसहित उनकै ५० वर्षीय बुबा नागेश्वर मण्डल, ४८ वर्षीय आमा उर्मिला मण्डल र २८ वर्षीय पति अरुण मण्डललाई पक्राउ गरेर कर्तव्य ज्यानअन्तर्गत अनुसन्धान गरिरहेको छ।
प्रहरी प्रधान कार्यलयको तथ्यांक हेर्दा ज्यानसम्बन्धी घटना अघिल्लो वर्षसँग तुलना गर्दा उस्तै पाइन्छ। आव ०७५/०७६ मा ६ हजार ९ सय ८६ ज्यानसम्बन्धी घटना भएका थिए। आव ०७६/०७७ मा यो संख्या बढेर ७ हजार १ सय ५५ मा पुग्यो। आव ०७७/०७८ को जेठसम्मको तथ्यांक हेर्ने हो भने पनि ७ हजार १ सय ४४ पुगिसक्यो। अझै १ महिनाको तथ्यांक आउन त बाँकी नै छ।
आममानिसको स्मृतिबाट टाढा हुन थालेका तर अनुसन्धानका क्रममा रहेका अन्य थुप्रै घटना छन्। नेपाल प्रहरीले हालै सार्वजनिक गरेको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकअनुसार जघन्य अपराधका घटना बढिरहेका छन्। आव ०७५/०७६ देखि ०७७/०७८ को जेठसम्म १ हजार ८३८ वटा हत्याका घटना दर्ता भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी कुँवर राजनीतिक अस्थिरता, प्रविधिमा भएको द्रुत विकास र त्यसको दुरुपयोग तथा भत्किँदै गएको सामाजिक मूल्यमान्यताका कारण आपराधिक क्रियाकलाप बढ्दै गएको बताउँछन्। ‘प्रविधिको विकास र समाजमा आएकोे परिवर्तनसँगै मान्छेका इच्छा–आकांक्षा बढ्दै जान्छन् र तिनलाई पूरा गर्न मानिसले गलत बाटो पनि रोज्छ,’ कुँवरको ठम्याइ छ। पछिल्लो समय कोरोना महामारीले निम्त्याएको बेरोजगारीले पनि अपराध बढाउन भूमिका खेलेको प्रहरीको भनाइ छ।
‘व्यक्तिका आवश्यकता र चाहनालाई सामाजिक मूल्यमान्यता र चालचलनले नियन्त्रण गर्दासम्म कुनै आपराधिक क्रियाकलाप हुँदैनन्। आकांक्षा पूर्तिका लागि व्यक्तिले सामाजिक संरचना भत्काउन थालेपछि र रहरले सीमा पार गरेपछि अपराध हुन जान्छ।’
समाजशास्त्री डा. टीकाराम गौतम सामाजिक संरचनामा आउने परिवर्तन, त्यससँगै निर्माण हुने मनोविज्ञान र मनोसामाजिक अवस्थाले अपराध निर्धारण गर्ने बताउँछन्। ‘सर्वसाधारणको विचलित व्यवहारले सामाजिक मूल्यमान्यता, नियमकानुन र आदर्श तोडेर जाने क्रममा कहीं न कहीं अपराध हुन्छ,’ गौतम भन्छन्। विद्यमान सामाजिक संरचना र चालचलनले व्यक्तिका इच्छा–आकांक्षामा बन्देज लगाउने हुँदा आफूभित्र जागृत चाहना परिपूर्ति गर्ने क्रममा कुनै न कुनै हिसाबले समाज हिंसातर्फ उन्मुख हुने उनको भनाइ छ।
‘व्यक्तिका आवश्यकता र चाहनालाई सामाजिक मूल्यमान्यता र चालचलनले नियन्त्रण गर्दासम्म कुनै आपराधिक क्रियाकलाप हुँदैनन्। आकांक्षा पूर्तिका लागि व्यक्तिले सामाजिक संरचना भत्काउन थालेपछि र रहरले सीमा पार गरेपछि अपराध हुन जान्छ,’ गौतम भन्छन्।
नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल अपराधका पछाडि व्यक्तिको सामाजिक, मानसिक र आर्थिक अवस्था रहेको बताउँछन्। अपराधको केन्द्रविन्दु राजनीतिक पार्टी र त्यसले गर्ने गैरसंवैधानिक कार्य रहेको उनको ठम्याइ छ। ‘मान्छेका असीमित र महत्त्वाकांक्षी आवश्यकता, देखासिकी, रिसइबी आदिका कारण अपराध हुन जान्छ। समाजमा फैलिएको वैमनश्यता र भड्किलो रहनसहन पनि अपराधको जड हो,’ मल्ल भन्छन्। अपराध कम गर्न प्राविधिक, राजनीतिक र सांस्कृतिक परिवर्तनसँगै समाज र परिवेशलाई पनि अगाडि बढाउँदै लैजानुपर्ने मल्लको तर्क छ।
‘अपराध र अपराधजन्य क्रियाकलापलाई प्रहरी प्रशासन र सरोेकारवाला निकायले गम्भीरताका साथ लिनुपर्छ। कहीं अपराध भयो वा कोही हरायो भने बिस्तारै खोजौंला, साथीभाइकहाँ गयो होला भनेर चुप बस्न हुँदैन। प्रहरी प्रशासनसँग समन्वय गरी तुरुन्त एक्सन लिनुपर्छ,’ पूर्व डीआईजी मल्लको सुझाव छ।