बिहीबार, साउन २१, २०८३

नदी दोहनमा जनप्रतिनिधिकै मिलेमतो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - धनुषाको विभित्र खोला र चुरेमा जनप्रतिनिधिकै मिलेमतोमा अवैध रूपमा उत्खनन भइरहेको छ। जिल्ला समन्वय समितिले रोक लगाए पनि धनुषामा बालुवा–गिट्टीको उत्खनन रोकिन सेकेको छैन।

मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाको सीमामा पर्ने बडहरी खोलामा अवैध तरिकाले बालुवा–गिट्टीको उत्खनन भइरहेको छ।

झन्डै चार महिनापूर्व रोक लगाइए पनि स्थानीय जनप्रतिनिधिकै मिलोमतोमा अवैध उत्खनन भइरहेको पाइएपछि प्रमुख जिल्ला अधिकारी आ जिल्ला समन्वय समिति धनुषाले मंगलबार अनुगमन गरेको छ।

अनुगमन टोली उत्खनन भइरहेको स्थानमा पुगेपछि उत्खनन कार्यमा संलग्न भागेका थिए। उत्खनन कार्य रोक्न तथा प्राकृतिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय जनप्रतिनिधिलाई दिने गरी निर्णय भएपनि ठीक विपरित तरिकाले काम भइरहेको अनुगमन टोलीमा संलग्न जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झाले बताए।

‘खोलामा भइरहेको उत्खनन रोक्न जिल्ला समन्वय समितिले निर्णय गरिसकेको छ,’ उपाध्यक्ष झाले भने,‘तर यहाँ पुगेर हेर्दा अवस्था दैनीय छ। अव्यवस्थित र अनियन्त्रित रुपमा उत्खनन कार्य भइरहेको छ।’

खोलाबाट बालुवा–गिट्टी उत्खनन गर्न वडाअध्यक्षले सिफारिस गरेको पत्र नै आफूहरुले अनुगमनका क्रममा फेला पारेको झाले बताए। ‘जिल्ला समन्वय समितिले उत्खनन हुन नदिन निगरानी गर्न स्थानीय तहलाई दिएको छ,’ झा भन्छन्, ‘तर बडहरी पुगेर हेर्दा उहाँहरुले जिम्मेवारी पूरा गरेजस्तो लागेको छैन।’ जनप्रतिनिधिकै सिफारिसमा उत्खनन हुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ।

उत्खननबारे प्रशासनिक निकायमा खबर गरे ज्यान मार्नेसम्मको धम्की आफूहरुलाई दिइएको मिथिला नगरपालिका–५ का तेजीलाल महतो बताउँछन्। मिथिला नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष दीपकजंग थापाको सिफारिसमा खोलामा अवैध तरिकाले बालुवा–गिट्टीको उत्खनन भइरहेको स्थानीयको भनाइ छ। स्थानीयले मेयरका छोरासमेत बालुवा–गिट्टीको उत्खननमा संलग्न रहेको आरोप लगाएका छन्।

तर नगरपालिकाका मेयर हरिनारायण महतोले भने खोलामा भइरहेको उत्खननबारे आफूलाई जानकारी नरहेको अनुगमन टोलीसमक्ष बताएका छन्। आफ्नै नगरपालिकाको खोलमा अवैध तरिकाले उत्खनन कार्य भइरहे पनि नगरप्रमुखले यसबारे जानकारी नरहेको भत्रु नसुहाउने समन्वय समतिका उपाध्यक्ष झाले बताए।

अनुगमनको क्रममा ४ वटा ट्रिपर र २ स्काइभेटर नियन्त्रणमा लिइएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन्। अनुगमन टोलीलाई देखेर भाग्न खोजेपछि ट्रिपर र स्काइभेटर नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

राजमार्ग छेउमै रहेको खोलामा अवैध उत्खननका कारण चुरे विनाश हुन थालेपछि जिल्ला समन्वय समिति धनुषा र महोत्तरीले यस कार्यमा रोक लगाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।