जनकपुरधाम – डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। शनिबार बिहान बसेको दुबै दलको बैठकले पार्टी एकीकरण गर्नेबारे अन्तिम टुंगो लगाएको हो।
बैठकपछि नयाँ शक्तिका अध्यक्ष भट्टराई र फोरम अध्यक्ष यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा २३ वैशाखमा पार्टी एकताको घोषणा गर्ने सहमति भएको जनाइएको छ। दुबै नेताबीच एकीकरण भई बन्ने नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी’ राख्ने सहमति भएको छ।
केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री रहेको फोरम अध्यक्ष यादवलाई पार्टी एकताका लागि सरकार छोड्नुपर्ने शर्त नयाँ शक्तिका अध्यक्ष भट्टराईले अघि सारेका थिए। पार्टी एकतापूर्व फोरमले सरकारमा बस्ने अथवा छोड्ने यस विषयमा खोलाइएको छैन।
यसैगरी नयाँ बन्ने पार्टीमा अध्यक्ष को हुने यसबारे पनि विज्ञप्तिमा खोलाइएको छैन। यद्यपि नेकपाको मोडेलमा नयाँ शक्ति र फोरम दूबै दलका नेता अध्यक्ष रहने गरी यसअघि छलफल चलेको थियो।
नयाँ शक्ति र फोरमबीच एकीकरणको कुरा चलिरहँदा दुई दिनअघिमात्र एकता प्रक्रियामा राष्ट्रिय जनता पार्टी (राजपा) लाई पनि सामेल गराउने प्रयास भट्टराईले गरेका थिए। र, सोहिअनुरुप नयाँ शक्तिका अध्यक्ष भट्टराई, फोरम अध्यक्ष यादव तथा राजपा अध्यक्षमण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतोबीच त्रिपक्षीय वार्तासमेत भएको थियो। राजपालाई पनि एकीकरण प्रक्रियामा सहभागी गराउन खोजेपछि फोरम अध्यक्ष बिचकेको बताइएको थियो।
नयाँ शक्ति र फोरमले एकताको घोषणा गरिसकेपछि तत्काल राजपा एकीकरण प्रक्रियाबाट बाहिरिएको छ। ‘दुई दल अघि बढिसकेको अवस्थामा तत्काल आफूहरुसँग एकीकरणको सम्भावना टरेको छ,’ राजपाका एक नेताले बताए।
राजपाका महामन्त्री जितेन्द्र सोनलले नयाँ शक्ति र फोरमले एकीकरणको घोषणा गरेपनि आफूहरुको तर्फबाट एकताको प्रयास जारी रहने बताएका छन्। तर, तत्काल दुई पार्टीसँग एकीकरण हुने सम्भावना आफूले नदेखेको उनले बताए।
नेपाली राजनीतिको वैकल्पिक शक्ति बन्ने सोचमा देखिएका नयाँ शक्तिका अध्यक्ष डा.भट्टराई लामो समयदेखि फोरमसँग एकता गर्न प्रयासरत थिए। भट्टराईकै पहलमा एकता प्रक्रियामा सहभागी हुन राजपा पछिल्लो पटक दुई दलसँग छलफलको लागि पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४