जनकपुरधाम – रौतहटस्थित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत डीएसपी कुमुद ढुंगेल निलम्बनमा परेका छन्। डकैतीलगायतका विभिन्न आपराधिक समूहसँग साँठगाँठ देखिएपछि प्रहरी प्रधान कार्यालयले ढुंगेललाई अनुसन्धानको लागि निलम्बन गरेको हो।
काठमाडौंसहित बाहिरका केहि आपराधिक समूहसँग साँठगाँठ देखिएपछि ढुंगेललाई निलम्बन गरिएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिएका छन्।
ं
साँठगाँठको घटना बाहिर आएपछि प्रहरी प्रधान कार्यालयले ढुंगेलविरुद्ध आन्तरिक छानबिन सुरु गरेको थियो। काठमाडौैंको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्ने मध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनका साथै भेटघाट गरेको खुलेपछि उनी अनुसन्धानको घेरामा परेका थिए।
यसका साथै ढुंगेलले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद चौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसँग संवाद गरेको बताइएको छ।
‘आफ्नो दायित्व र कर्तव्य बिर्सेर प्रहरी संगठनलाई बदनाम गर्ने जो सुकैलाई कारबाही हुन्छ,’ नेपाल समयसँग कुरा गर्दै महानिरीक्षक खनालले भने, ‘उनको केहि आपराधिक समूहसँग सम्बन्ध देखिएको छ, हामी अनुसन्धान गरिरहेका छौं।’ प्रहरी संगठन बदनाम गर्ने तत्वलाई समाप्त पारेर शुद्धीकरण गर्न आफू लागि परेको उनको भनाई थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४