धनगढी - पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ डडेलधुराको गन्यापधुरा गाउँपालिकाले धार्मिक विषयवस्तु समेटेर स्थानीय पाठ्क्रम निर्माण गर्दै छ। गाउँपालिकाले शिक्षण सिकाई क्रियाकलापमा सहयोगका लागि सन्दर्भ सामाग्रीहरुमा गाउँपालिका भित्र रहेका धार्मिक शक्तिपिठहरुको परिचय, महत्व, विशेषता समावेस गरेको छ।
पाठ्क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रेरणादायक जीवनी समावेश गर्न सुझाव दिइएको छ। गन्यापधुरामै जन्म भई देशको चार पटकसम्म प्रधानमन्त्री बन्न सफल भएकाले शेरबहादुर देउवाको प्रेरणादायक जीवनी पाठ्यक्रममा समावेस गर्न सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सुझाव दिए। शिक्षा शाखाले प्रस्तुत गरेको कार्यपत्रमा सहिद भिमदत्त पन्तको परिचय समावेस गरिएको थियो। सहिद पन्तसँगै यस क्षेत्रका देशकै महत्वपुर्ण व्यक्ति एनडि प्रकाश चटौत लगायतका व्यक्तित्वको पनि परिचय र प्रेरणादायक जीवनी समावेश गर्न कार्यक्रमा सुझाव दिइएको थियो।
कक्षा १ देखी ५ सम्मका विद्यार्थीका लागि निमार्ण भइरहेको पाठ्यक्रममा गाँउपालिका भित्रै रहेका धार्मीक तथा पर्यटकीय स्थल समेटीने अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए। ‘हाम्रो ठाउँका स–सना नानीबाबुहरुलाई आफ्नै ठाउँको बारेमा जानकारी नहुन सक्छ, सबै स्थानमा नगएका हुनसक्छन त्यसैले यही पाठ्यक्रम मार्फत जानकारी गराउने हाम्रो उदेश्य हो’, उनले भने, ‘मस्यौदामाथि छलफल भई अबको १५ दिनमा पाठ्क्रम प्रकाशित हुन्छ।’
शिक्षा शाखा प्रमुख प्रेमसिंह ऐरले धार्मिक शक्तिपीठसँगै प्रसिद्ध व्यक्तिको परिचय, विपद् व्यवस्थापनमा प्रयोग हुने शब्दावली र प्रयोग, कविता, स्वास्थ्य सेवा, पोषणको कविता लगायत स्थानीय चाँडपर्वका विषयमा पनि कविता समावेश गरिएको बताए।
धार्मिक शक्तिपिठहरुको परिचय, महत्व, विषेशताहरुमा घण्टेश्वर देवताको मन्दिर, असिग्राम बाबा, शिखर, गन्यापधुरा देवता, नङरी ताल, शिखर जाँत, बँडाल जाँत र गाउँहरु सम्बन्धि कविताहरु पनि समावेस गरिएको उनले बताए।
गाउँपालिकाले सामाजिक अध्ययन, सिर्जनात्मक कला र स्वास्थ्य तथा शारीरिक विषयको पाठ्यक्रम निर्माण गरेको छ। २० पुर्णाङ्क रहने गरी स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने नीति अनुसार गन्यापधुराले गाउँपालिका भित्र रहेको धार्मिक सांस्कृतिक मठ मन्दिर गन्यापधुरा, लाटा गन्याप, बडाल जाँत, असिग्रम, भागेश्वर, कैलपाल, निरपाल लगायतका स्थलहरुको परिचय र धार्मिक महत्व सहितको पाठ्यक्रमको मस्यौदा निर्माण गरेको छ। स्थानीय उत्पादन, उद्योगहरुलाई पनि पाठ्यक्रममा समावेस गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४