वीरगंज - गत चैतमा आएको विनाशकारी चक्रवातका कारण विस्थापित परिवारको पुनर्वासको लागी संघीय सरकारले जगरन्नाथपुरका विस्थापितको लागि आवास निर्माण सुरु गरेको छ।
संघीय सरकारका उर्जा मन्त्री वर्षमान पुनले शनिबार एक औपचारिक कार्यक्रमकाबीच निर्माण कार्य को शिलान्यास गरेका हुन्। वीरगंज महानगरपालिका वडा नम्बर २२ स्थित जगरन्नाथपुरको १ सय २४ वटा घरपरिवार प्रभावित भएका थिए। तीमध्ये ५४ वटा परिवारको घर पूर्णरुपमा क्षतिग्रस्त भएकोले निर्माण गर्न लागिएको हो। पर्साका ३ स्थानमा ९१ वटा घर बनाउने जिम्मेवारी सेनाले पाएको छ।
नेपाली सेनाले बारा र पर्सामा १४ सय ५३ वटा घर निर्माण गर्दैछ। सेनाले दुई वटा कोठा, एउटा भान्छा र शौचालयसहित जस्तापाताको छानो हालेर करिब ५ लाख ४५ हजार रुपैयाँ लगानीमा एउटा पक्की घर निर्माण गर्ने योजना बनाएको छ। ८२ दिनमा निर्माण सम्पन्न गरेर प्रभावित परिवारलाई आवास सुम्पने सेनाको लक्ष्य रहेको छ।
शिलान्यास कार्यक्रममा पूर्व संविधान सभा सदस्य विचारी यादव, नेपाली कांग्रेसका स्थानीय नेता विनेशकुमार ठाकुरलगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४