काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमको अालोचना गरेको छ। कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई जनताका इच्छा र आकांक्षा पूरा गराउने भन्दा पनि पार्टीको चुनावी घोषणापत्र जस्तो आएको भनी टिप्पणी गरेको छ। नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका थुप्रै विषय उल्लेख गरिए पनि सम्पन्न गर्ने आधार नदेखिएको कांग्रेसको आरोप छ।
सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको भनी टिप्पणी गरेका छन्। उनले नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नरहेको बताए। सभापति देउवाले भने, “धेरै कुरा अघिल्लो पटकको उल्लेख छ, नयाँ कुरा छैन।”
यस्तै कांग्रेस उपसभापति विजयकुमार गच्छदारले नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको र पुरानोको निरन्तता जस्तो मात्र देखिएको बताए। यसमा समय तोकेर धेरै विषय उल्लेख गरिए पनि कार्यान्वयन हुने आधार नदेखिएको उनको भनाइ छ। नीति कार्यक्रममा केही राम्रो कुरा भए पनि धेरै विषयमा सपना बाडेकोजस्तो देखिएको उनले बताए।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानले ग्यारेण्टी गरेका मौलिक अधिकारलाई नीति कार्यक्रममा सुनिश्चिता नगरिएको र सङ्घीयतालाई सवल बनाउने आधारशीला पनि नभएको भनी टिप्पाणी गरेका छन्। खाणले नीति तथा कार्यक्रमअनुसार ल्याइने बजेटले मुद्रा स्फीति बढ्ने र यसले झनै मूल्यवृद्धि तथा महँगी बढ्ने आरोप लगाए। नीति तथा कार्यक्रम सबै जनताले अपनत्व गर्ने खालको नभई गफको पुलिन्दाजस्तो भएको उनले बताए।
कांग्रेस नेता गगन थापाले ‘मेरो सरकार’ भन्ने सम्बोधनले राष्ट्रपतिलाई विवादमा फसाउने र संस्थाप्रतिको मान सम्मान घटाउने गरी गम्भीर त्रुटि भएको धारणा व्यक्त गरे। अघिल्लो आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको कार्यक्रमको समीक्षामा आत्मप्रशंसा मात्र भएको भन्दै नेता थापाले भने, “चालू आवमा जनता निराश भन्ने कही उल्लेख छैन, भ्रम अहङ्कार मात्र उल्लेख छ।” पूँजीगत खर्च कम भएको र राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसकेकोबाहेक अन्य कुनै पनि कमजोरी नभएको भनी नीतिमा उल्लेख भएको बताउँदै थापाले यसले सही दिशामा डोर्याउन नसक्ने बताए।
सङ्घीयता कार्यान्वयनका सम्बन्धमा यो वर्ष फितलो भए पनि नीतिमा कही पनि सङ्घीयताको सन्दर्भमा कमजोरी रहेको उल्लेख नभएको उदाहरण दिँदै उनले ‘पाँच वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्छु भनेको सरकारले गएको वर्ष कति रोजगारी सिजर्ना गरे’ भन्दैन भने। नीति र कार्यक्रममा नयाँ कुरा केही नभएको र पुरानो कुराको निरन्तता मात्र रहेको भन्दै नेता थापाले नीति तथा कार्यक्रमलाई झुटको र आश्वासनको पुलिन्दा भनी टिप्पणी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४