काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ। सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते छलफल हुने जानकारी दिए। छलफलपछि प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको छ। त्यसपछि सभामुखले प्रस्ताव गरेको धन्यवाद प्रस्तावको टुङ्गो लाग्नेछ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख महराले राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमा ‘सम्माननीय राष्ट्रपतिद्वारा सङ्घीय संसदको चौथो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०७६ वैशाख २० गते गर्नुभएको सम्बोधनका लागि प्रतिनिधिसभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ’, भनिएको छ।
यस्तै बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई समेत पारित गरेको छ। प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३१ को खण्ड क बमोजिम उक्त विधेयक प्रस्तुत भएको हो। प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४