जनकपुरधाम – प्रहरीले सिरहाबाट एक भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मधुबनी ग्रामपञ्चायत बगहा–१ बस्ने २८ वर्षीय राजेशकुमार यादव रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेको यादवको साथबाट कटुवा पेस्तोल १ थान र गोली १ थान बरामद भएको छ। सिरहाको भगवानपुर गाउँपालिका–४ दशगजास्थित मिनी बजार जाने बाटोमा चेकजाँचको क्रममा यादव पक्राउ परेका हुन्।
यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिएका छन्।
यसैगरी सिरहा प्रहरीले लागुऔषध बोकेर हिँडेका दुई भारतीयसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–१ हुलाकी सडक खण्डबाट मधुबनी ग्रामपञ्चात मधवापुर बस्ने १७ वर्षीय उज्वलकुमार यादव र सोहि स्थानका १८ वर्षीय शिवम कुमारलाई नियन्त्रणमा लिएको हो।
यसैगरी सिरहा नगरपालिका–१७ पटेर्वा कच्ची सडक खण्डबाट प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–३ मिर्चैया बस्ने २६ वर्षीय सुनिल यादवलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ।
भारतीय नागरिक उज्वल र शिवमको साथबाट अवैध लागुऔषध डाइलेक्सडिसी १०० एमएलको २० र सुनिलको साथबाट ४९ वटा बोतल फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४