जनकपुरधाम - प्रदेशसभाको तेस्रो अधिवेशन सुरु भएयता विपक्षी दलहरुले लगातार दोस्रो पटक प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। प्रदेश सरकार प्रतिपक्षी दललाई अटेर गरी अगाडी बढिरहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले शुक्रबारको बैठक अवरुद्ध गरेको हो।
प्रतिपक्षको अवरोधका कारण चौथो अधिवेशनको एउटा पनि बैठक बस्न सकेको छैन्। शुक्रबार बोलाइएको बैठक सुरु भएलगत्तै कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहा र नेकपाकी प्रदेशसभा सदस्य ज्वालाकुमारी साह आफूहरुले अघि सारेको माग सम्बोधन नभएसम्म सदन चल्न नदिने बताए। आ–आफ्ना सीटबाट उठेका प्रदेशसभा सदस्यहरुलाई बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख उपमा देवले बस्न आग्रह गरेपनि उनीहरुले नमानेपछि अर्को सूचना नहुन्जेल बैठक स्थगित भएको छ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले संसदीय क्षेत्रमा विकास निर्माणको योजनाबारे भएको भद्र सहमति सरकारले पालना नगरेको आरोप लगाए। यसअघिको बैठकमा आफूहरुले अघि सारेका मागहरुबारे सरकारले चासो नदेखाएर एकलौटी गर्न खोजेको उनको भनाइ थियो।
जनता आवास कार्यक्रम, बजेट रकमान्तर, वीरगन्जस्थित बीपी उद्यानलगायतका विषयमा आफूहरुले अघि सारेको मागप्रति सरकार गम्भीर नदेखिएकाले बैठक अवरुद्ध गर्न बाध्य भएको उनले बताए। प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल र आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले दुई दिनभित्र माग सम्बोधन गर्ने आवश्वासन दिए पनि हालसम्म सरकरकोतर्फबाट कुनै जबाफ नआएको कुशवाहाको भनाइ छ। उनले मुख्यमन्त्री राउतलाई भेटेरै सबै कुरा जानकारी गराएपनि कुनै सुनवाइ हुन नसकेपछि बैठक अवरुद्ध पारेको बताए। सचेतक कुशवाहाले सरकारले विभित्र शीर्षकमा भ्रष्टाचार र अनियमितता गरेको विषयमा सञ्चारमाध्यममा आएका समाचारसम्बन्धमा प्रस्ट पार्न सरकारसँग माग गरेका छन्।
यद्यपि कुशवाहाले आफूहरुको मागप्रति मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिलामन्त्री यादव गम्भीर देखिएको बताएका छन्।
नेकपाकी प्रदेशसभा सदस्य ज्वालाकुमारी साहले विपक्षीलाई बाइपास गर्दै सरकार एकलौटी ढंगले हिँडन खोजेको आरोप लगाइन्। शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकमा मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीले आवश्वासन दिए पनि व्यवहारमा उत्रिनबारे आफूहरु सशंकित रहेको उनको भनाइ थियो।
तेस्रो अधिवेशन सुरु भएयता हालसम्म प्रदेशसभाको बैठक प्रभावकारी रुपले बस्न सकेको छैन। चैत १४ र १५ गते बसेको तेस्रो अधिवेशनको पहिलो र दोस्रो बैठकपछि प्रतिपक्षी दलको अवरोधका कारण अन्य बैठक हुन सकेको छैन। यसअघि ३ वैशाखमा बोलाइएको बैठक पनि नेपाली कांग्रेस र नेकपाले अवरोध गरेको थियो।
राउतले पनि फुकाउन सकेनन् गाँठो
लगातार प्रदेशसभा बैठक अवरुद्ध हुन थालेपछि सहमति जुटाउन मुख्यमन्त्री लालबाबु राउत स्वयं शुक्रबार प्रदेशसभा पुगेका थिए। विपक्षी दलसँग छलफल गरेर बैठक सञ्चालन गर्ने राउतको योजना सफल हुन सकेन। राउतसँगको छलफलमा प्रतिपक्षी दल कांग्रेस र नेकपाले आफूहरुले उठाएको माग सम्बोधन गर्नबारे ठोस पहल नभएसम्म बैठक चल्न नदिने अडान कायमै राखे। राउतले माग सम्बोधन गर्न मौखिक स्वीकृति जनाए पनि विपक्षी दलले लिखित प्रतिबद्धताको माग गरेका थिए।
‘मुख्यमन्त्रीज्यूले हामीले उठाएका मागहरु चाँडै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘बैठक चलोस् हाम्रो पनि चाहना छ, सरकारले माग पूरा गरे लगत्तै हाम्रो अवरोध हट्छ।’
‘सबै संसदीय क्षेत्रमा एउटा ठूलो विकासको योजना दिने सहमति भएको थियो। तर सरकार सहमतिविपरित गएको छ, हामीले सहमति पूरा गर्न भनेका छौं,’ उनले भने, ‘जनता आवास कार्यक्रममा सरकारले आफूखुसी संयोजक चयन गरेको छ, हामीले सबै दललाई समेटर समिति बनाउन भनेका छौं। मुख्यमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४