काठमाडौं- भारतीय सेनाले नेपालको मकालु बरुण संरक्षण क्षेत्रमा काल्पनिक हिम मानव यतिको पाइला भेटेको भनेर गरेको दावी गलत भएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले उक्त पाइला यतिको नभइ भालुको भएको स्पष्ट पारेको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले हिन्दूस्तान टाइम्ससँग गरेको कुराकानीमा मकालु बरुण संरक्षण क्षेत्रमा यतिको पाइला नभएको बताएका छन् ।
भारतीय सेनाको टोलीसँगै आफूहरुको लियाजो टोलीपनि रहेको उक्त टोलीले उक्त पाइला हिम मानवको नभएको ठहर गरेको उनले जानकारी दिए । स्थानीयवासी र भरियाहरुले पनि त्यो जंगली भालुको पाइला भएको र सो क्षेत्रमा नियमित आउने गरेको बताएको उनले जनाएका छन् ।
गएको सोमबार भारतीय सेनाले मकालु बरुण संरक्षण क्षेत्रमा यतिको पाइला भेटेको भनेर ट्विट गरेपछि विश्वभरी त्यसको चर्चा भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४