काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले सार्वजनिक जग्गा अतिक्रमणको विषय र बर्ड फ्लुबाट मानिसको मृत्यु भएको विषयलाई प्रमुखताका साथ छापेका छन् ।
कान्तिपुरले मनोहरा नदिको ५० रोपनी जग्गा व्यक्तिको नाममा पास गरेको खुलासा गरेको छ भने नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको मृत्यु भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले धेबीखोलाको जग्गा व्यक्तिका नाममा शीर्षकमा मुख्य समाचार लेखेको छ भने नयाँ पत्रिकाले सरकारको नीति तथा कार्यक्रमको समिक्षासम्बन्धी खबरलाई प्रमुखताका साथ छापेको छ । नयाँ पत्रिकाले बर्ड फ्लुबाट मानिसको मृत्यु भएको विषयलाई पनि महत्वका साथ छापेको छ ।
धेबीखोलाको जग्गा व्यक्तिका नाममा
नागरिक दैनिकले धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलासा गरेको हो ।
नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ । नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको समाचारमा जनाइएको छ।
निलो पुल (गोपीकृष्ण हल) अगाडिको सरकारी जमिन सिट नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिइएको छ।
साबिक चपली ९ (ग) २ मा पर्ने धोबीखोलाको जग्गा नयाँ नापी हुँदा कायम कित्ता नम्बर १३३, १३४ र १४३ समेतमा घुसाई व्यक्तिका नाममा दर्ता भएको छ। सम्बाहाम्फे लोयल्टी स्कुलका सञ्चालकसमेत हुन्। उनी र उनकी श्रीमतीका नाममा मात्रै चार रोपनी सरकारी जमिन दर्ता भएको छ।
खोला कायम भइसकेको कित्ताबाट क्षेत्रफल कटाएर नक्सा सुधार गरी खोलाको जग्गासमेत मिसाई कुलो पनि मासेर व्यक्तिका नाममा साबिकभन्दा थप ३–१५–०–१ जग्गा दर्ता गरिएको नागरिकले खुलासा गरेको हो ।
नदिको ५० रोपनी व्यक्तिको नाममा
कान्तिपुर दैनिकले भूमाफियाले सानोठिमीस्थित मनोहरा नदिको करिब ५० रोपनी जग्ग व्यक्तिका नाममा रजिस्ट्रेसन पास गराएको खुलासा गरेको छ ।
करिब ३५ वर्षअघि नदिले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिको नाममा कायम गरेको भेटिएको हो । ल्यान्ड पुलिङ गरी घडेरी विक्रि गर्दै आइरहेको मनोहरा जग्गा एकिकरण आयोजना कार्यालले ल्यान्ड पुलिङका लागि पहल गर्दा अनानक यो तथ्य खुलेको समाचारमा जनाइएको छ ।
२०२१ को नापीअनुसार नदी भएका ठाउँमा अहिले व्यक्तिको जग्गा देखिन्छ । नक्सामा अहिले पनि जग्गा भएकै ठाउँमा नदी छ । तर फिल्डमा भने बहाव परिवर्तन गरेका कारण नदी अरुकै जग्गामा छ । २०३० तिर नदीले बहाव परिवर्तन गरेपछि उक्त जग्गा भूमाफियाले आफ्ना नाममा लगेको भेटिएको आयोजनाले जनाएको समाचारमा उल्लेख छ ।
बर्ड फ्लुबाट मानिसको मृत्यु
नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको मृत्यु भएको विषयलाई पनि आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । आजको कान्तिपुरले बर्ड फ्लु (एच एन वान संक्रमणबाट मुलुकमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको समाचारमा छापेको छ ।
ज्वरो रुघाखोकीको लक्षण देखिएपछि अस्पताल भर्ना भएका २१ वर्षीय युवकको उपचारका क्रममा गत चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ पत्रिकाले पनि यसलाई महत्वका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४