काठमाडौं – एकीकरणको अन्तिम तयारीमा रहेको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकीकरण प्रक्रियामा राजपा नेपाल पनि सामेल भएको छ। बिहीबार नयाँ शक्ति, फोरम र राजपा नेपालका नेताहरुबीच एकीकरणबारे त्रिपक्षीय वार्ता भएको छ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पहलमा नयाँ शक्ति र फोरमबीचको एकता प्रक्रियामा राजपाका साथै राष्ट्रिय जनमुक्ति पार्टीपनि सामेल भएको हो।
राजपा र राष्ट्रिय जनमुक्ति पार्टीबीच यसअघि नै एकीकरण भइसकेको छ। नयाँ शक्तिका संयोजक भट्टराई, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतो तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच त्रिपक्षीय छलफल भएको बताइएको छ।
नयाँ शक्तिको पार्टी कार्यालयमा भएको छलफलमा तीनै दल सामूहिक रुपमा अगाडि बढ्नुपर्ने विषयमा छलफल भएको राजपाका महासचिव केशव झाले जानकारी दिए। ‘तीनै दलबीच पहिलो चरणको छलफल भएको छ,’ झाले भने, ‘जे गर्ने भएपनि सामूहिक रुपमा अगाडि बढ्नुपर्ने धारणा छलफलमा आएको छ।’ पहिलो चरणको वार्तापछि चाँडै अनुकूलता मिलाएर अर्को बैठक हुने उनले जानकारी दिए।
फोरम र नयाँ शक्तिबीच एकीकरणको लागि करिबकरिब सहमति भइसकेको अवस्थामा राजपा र जनमुक्ति पार्टीपनि एकीकरणको छलफल प्रक्रियामा सहभागी भएको छ। नयाँ शक्ति र फोरमबीच २३ वैशाखमा एकीकरण हुने तयारी छ।
बिहीबारको छलफलपछि पूर्वप्रधामन्त्रीसमेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईलाई एकीकरणको खाका तयार पार्ने जिम्मेवारी दिइएको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४