बिहीबार, साउन २१, २०८३

ललितपुरमा यसकारण बढ्दैछ लोडसेडिङको सम्भावना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ। उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध पुर्‍याएउँदै टावर ढालेपछि ललितपुरमा लोडसेडिङ हुने सम्भावना बढेको हो।

विद्युतको माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताए।
  
आर्थिक वर्ष २०५५/०५६ बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन। ललितपुरको खोकना, बुङ्गमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन्। काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ। समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन। 

स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजनास्थलको निरीक्षण गरेका थिए। घिसिङले स्थानीयले मुख्य रुपमा अवरोध गरेको खोकना, बुङ्गमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएका थिए। 

उनले ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा ढालिएको २७ नम्बर टावरको पनि निरीक्षण गरेका थिए। स्थानीयले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको थियो। 

‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिँदैन’, घिसिङले भने, ‘स्थानीयले प्रसारण लाइन बनाउन दिँदैनन्, खडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडांै उपत्यकामा विद्युत आपूर्ति दिने? प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउँदैछ।’ 

यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै घिसिङले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने बताए। अहिले ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ। यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ। 

ललितपुरको खोकना, बुङ्गमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शत्प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन्। 

खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक, बाहिरी चक्रपथको रुटसँगै  र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माण गर्नुपर्ने माग गरेका छन्।  प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ। तर, स्थानीयले अधिग्रहण गरेको जग्गामासमेत काम गर्न दिएका छैनन्।

प्रसारण तारमुनि पर्ने ९ मिटर दायाँ र ९ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे) मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ।

प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ। काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो।
 
प्रसारण लाइन आयोजनाको ललितपुरमा पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नु पर्ने छ। त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ। १५ वटा टावर खडा गरिएको छ। तार भने टांगिएको छैन। 

२८ किलोमिटर प्रसारण लाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ। स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष ०६६/६७ मा ठेक्का तोडेको थियो।

टावर निर्माणका सम्पूर्ण उपकरण पुरानै ठेकेदार कम्पनीले आपूर्ति गरिसकेको आयोजना प्रमुख सुनिल महतोले बताए। उनले अवरोध हटेर काम सुरु भएको ६ महिना भित्रमा निर्माण सकिने अवस्था रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।