काठमाडौं- केही दिनअघि भारतमा गएको ‘फानी’ आँधी बिस्तारै उत्तरपश्चिम दिशातर्फ बढेको बन्दै मौसमविद्हरूले सजग बन्न सुझाव दिएका छन् । जल तथा मौसम विभागका अनुसार यो प्रणाली शुक्रबार भारतको पूर्वी क्षेत्र ओडिसातिर मोडिनेछ ।
विभागले फानी नामक आँधी शुक्रबार अपराह्नपछि आउने भविष्यवाणी गरेको छ । उक्त आँधी नेपालतर्फ आउने सम्भावना नदेखिए तापनि नेपालको पूर्वी र मध्य हिमाली भूभागमा हावाहुरीसहितको वर्षा हुन सक्नेछ ।
आजको मौसम कस्तो हुन्छ ?
बिहीबार पनि उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् ।
भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसमविद् विभुति पोखरेलले जानकारी दिइन् ।
बुधबार बेलुकी पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको थियो । काठमाडौं उपत्यकामा पनि त्यसको प्रभाव देखिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४