जनकपुरधाम- आमनागरिकको जिउधन रक्षा गर्न प्रहरीलाई हतियार थमाइन्छ । तर त्यै प्रहरीकै हतियार तस्करहरुले सजिलै खोस्न थालेका छन् ।
धनुषामा भएको पछिल्लो एक घटनाले प्रहरीले बोक्ने गरेको हतियार कति सुरक्षित भत्रे प्रश्न खडा गरेको छ । धनुषामा प्रहरीको हतियार खोसिएको छ र हतियार खोस्ने अरु कोहि नभएर तस्करहरु छन् ।
धनुषाको दक्षिणवर्ती मुखियापट्टी मुसहरिनया गाउँपालिकामा गस्तिमा रहेका प्रहरीको हतियार खोसिएको हो । बुधबार बिहान करिब साढे तीन बजेतर्फ गस्तीमा रहेका मुखियापट्टी मुसहरनिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (सई) प्रमोदकुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसमा लाग्ने म्यागजिन तस्करहरु लुटेर फरार भएका छन् । तस्करहरु बोरामा राखेका रक्सीका पोकाहरु फरार भएको बताइएको छ ।
गाउँपालिकाभन्दा झण्डै एक किलोमिटर दक्षिण सीमा नजिकै २०/२५ जनाको समूहमा रहेका तस्करहरुले भारततर्फ रक्सी लाँदै गर्दा गस्तीमा रहेका तीनजना प्रहरीले उनीहरुलाई रोक्यो । कमसंख्यामा प्रहरी देखेपछि उनीहरु प्रहरीमाथि जाइलागे । प्रहरीसँग विवादकै क्रममा तस्करहरुले सई साहसँग रहेको पेस्तोल र म्यागजिन लुटेर नजिकै रहेको सीमा कटे ।
तर तस्करहरुसँगै रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ बस्ने सकुन्तला देवी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् । अन्य तस्करहरुको खोजी भइरहेको र छिट्टै उनीहरु पनि प्रहरीको नियन्त्रणमा आउने डीएसपी कार्कीले दाबी गरे ।
'२०/२५ जनाको समूहमा रहेको तस्करहरुले भारतमा प्रतिबन्धित मदिरा सीमा पारी लान खोजेका थिए,' नेपाल समयसँग कुरा गर्दै डीएसपी कार्कीले भने,'तीनजनाको संख्यामा गस्तीमा रहेको प्रहरीले उनीहरुलाई रोक्न खोज्यो । तर उनीहरुले प्रतिवाद गर्दै प्रहरीलाई दुव्र्यवहार गर्नुका साथै हतियार खोसेर भागेका छन् ।'
'तस्करहरु सँगै रहेकी एक महिलालाई प्रहरीले तत्काल पक्राउ गरिसकेको छ,' कार्कीले भने,'अन्य सबै तस्करहरुको पहिचान भइसकेको छ, सबै स्थानीय हुन् । छिट्टै नियन्त्रणमा आउने छन् ।' डीएसपी कार्कीका अनुसार प्रहरीको हतियार लुटेर भाग्नेमा मुखियापट्टी मुसहरिनया–१ बस्ने मनोज यादवलगायतका व्यक्तिहरु छन् ।
सदरमुकाम जनकपुरबाट करिब १७/१८ किलोमिटर दक्षिणमा अवस्थित मुखियापट्टी मुसहरिनया गाउँपालिका भारतीय सीमासँग जोडिएको गाउँ हो । सीमा नजिकै घटना भएको स्थान बस्तिभन्दा दक्षिणमा छ । त्यस क्षेत्रमा एक दर्जनभन्दा बढी रक्सि पसलहरु सञ्चालनमा रहेका छन् ।
भारतमा मदिरा प्रतिबन्धि भएपछि पारीबाट मदिरा सेवन गर्न पारीबाट हरेक दिन ठुलो संख्यामा मानिसहरु आउने गर्दछन् । प्रहरीको हतियार खोसिएको घटनापछि अहिले त्यो क्षेत्र सुनसान छ । सबै रक्सी पसलहरु बन्द छन भने केहि प्रहरी त्यस क्षेत्रमा गस्ती गरिरहेका छन् ।
भारतबाट अवैध रुपमा सामान ल्याउन तस्करहरुले प्रयोग गर्ने धनुषाका विभित्र नाकाहरु मध्ये एक मानिन्छ मुखियापट्टी मुसहरिनया । यसअघि पनि त्यहाँ तस्कर र प्रहरीबीच तस्करीकै विषयमा पटकपटक झडप भइसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४