बिहीबार, साउन २१, २०८३

कांग्रेस जागरण अभियान : संरचनाबिनाको चटारो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांगेस ११औं महासमिति बैठकको निर्देशनअनुसार आगामी वैशाख २५ गते देखि ७७ जिल्लामा जागरण अभियान सुरु हुँदैछ। संघीय संरचनाअनुसार कांगे्रसले स्थानीय, प्रदेश तथा संघमा आफूलाई विस्तार गर्न भने बाँकी छ। संरचना र संगठन विस्तार नगरी हुन थालेको जागरण अभियान कतै अस्तव्यस्त त हुने हो कि भन्ने शंका उठेको छ।

विशेषगरी कांग्रेस युवापंक्ति तथा जिल्लाको नेतृत्व गरिरहेका सभपतिको दबाबमा महासमिति बैठकले जागरण अभियानमा जाने निर्णय गरे पनि पुनः केन्द्रीय समितिमा पर्याप्त छलफल नभएको र एजेन्डासमेत तय नभएको भन्दै संस्थापन इतर पक्षले जागरण अभियानमा  हुन सक्ने त्रुटिको भारी संस्थापन पक्षलाई थोपरेर आफू चोखिने दाउमा देखिएको छ।

महासमिति बैठकको निर्देशनअनुसार केन्द्रीय समितिले जागरण अभियानमा जाने निर्णय गरेपछि फेरि किन अलमल ? यसै सन्दर्भमा कांग्रेसका केही युवा नेतासँग नेपाल समयका लागि मित्र भण्डारीले गरेको कुराकानी उनीहरुकै शब्दमा- 
 
चन्द्र भण्डारी, केन्द्रीय सदस्य

जागरण अभियान आमजनतालाई जगाउने र सुसूचित बनाउने महत्त्वपूर्ण विषय हो। जागरण अभियानमा राष्ट्रिय महत्त्वका सवालका मुद्दाहरुको विषय जनतालाई सूचित गराउने र जनचेतना सञ्चार गर्न सक्नुपर्छ ।

मंगलबारदेखि संसद्मा वर्षे अधिवेशन सुरु भयो तर राष्ट्रिय महत्त्वका सवालहरु, खुला नागरिकता वितरण, भ्रष्टाचार नियन्त्रण, हत्याहिंसा, महँगीलगायतका महत्त्वपूर्ण विषयमा कसैले विरोध गरेको सुनिएन। यसको मूल दोष नेतृत्वको हैन ? यस्ता सवालमा खै छलफल गरेको ? खै एजेन्डा तय गरेको ? जथाभाबी नागरिकता वितरण हुँदा असली नागरिक अल्पमतमा पर्छन् है भनेर खै बुझाउन सकेको ? 

कांग्रेसले युवाको दबाबमा जागरण अभियान चलाउनुपर्छ। राष्ट्रिय महत्त्वका विषयलाई आमजनताबीच छलफल गराउनुपर्छ। जागरण अभियानमा जाने भनेर निर्णय त गर्‍यौं। तर कसरी जाने के के विषय लिएर जनतामा जाने भन्ने विषयमा गहन छलफल हुनु पर्दैन ?

हाम्रा संगठन संघीय संरचनाअनुसार विस्तार भएका छैनन्। यस्तो अवस्थामा कसरी प्रभावकारी अभियान गर्न सकिन्छ ? खै तयारी ? खै योजना ? 

राजनीति पछि गरौंला, नेता पनि बनौंला तर देश नै रहेन भने हामीले राजनीति गरेको र नेता बनेको के अर्थ ? सबैभन्दा माथि देशलाई राखेर देशको सर्वोत्तर हितमा जागरण अभियान सञ्चालन गर्नुपर्छ। त्यसका लागि विशेष तयारी र महत्त्वपूर्ण एजेन्डा तय गर्नुपर्छ। त्यसो हुन सकेन भने यसले थप अन्योल सिर्जना गर्न सक्छ।
 
गगन थापा, केन्द्रीय सदस्य 

कम्युनिस्ट सरकार अनुदार बन्दै गर्दा जनतामा एकदमै निराशा छाएको छ। यस्तो अवस्थामा जनता कांग्रेससँग आशावादी छ। कांगेसले आशा जगाओस् भन्ने अपेक्षा गरिरहँदा हामीले जनतामा आशाको सञ्चार गर्न जागरण अभियानमा जाने निर्णय गरेका छौं।

तर हामीसँग न त ७५३ स्थानीय निकायमा संरचना बनेको छ न प्रदेश र संघीय संरचनाअनुसार संगठन विस्तार भएको छ। यस्तो अवस्थामा जागरण अभियान कसले चलाउँछ ? हामीले पर्याप्त छलफल तयारीविना जागरण अभियान सञ्चालन गर्दा नेपाली जनता तथा कांग्रेसका आमकार्यकर्तामा अलमल देखियो भने सन्देश राम्रो दिँदैन।

अब कांग्रेसले जागरण अभियान सँगसँगै पार्टी संरचना निर्माण गर्न ढिला गर्नु हुँदैन।

गुरुराज घिमिरे, केन्द्रीय सदस्य 

कांग्रेसमा विशेष गरेर युवा निरन्तरको प्रयासबाट महासमिति बैठकले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। अहिले कम्युनिस्ट सरकार जसरी अलोकतान्त्रिक र स्वेच्छाचारी हिसाबले अगाडि बढेको छ। त्यसको यथार्थ जनतासम्मा पुर्‍याउन जागरण अभियान महत्त्वपूर्ण हुन्छ।

हामीसँग संघीय संरचनाअनुसारका संरचना तयार भइसकेका छैनन्। त्यस्तो अवस्थामा यो जागरण अभियानको प्रभावकारिता र निरन्तरताका विषयमा शंका उत्पन्न हुनु आफ्नो ठाउँमा छ। हामी जागरणकै अभियानमा पार्टी संरचना कसरी निर्माण गर्ने भन्ने विषयमा पनि छलफल गर्छौं। आमकार्यकर्ताको अभिमतसमेत संकलन गर्छौं।

केही शीर्ष नेताहरुले पाटीभित्र पर्याप्त छलफल भएन भन्नुभएको  छ। यस्तो महत्त्वपूर्ण निर्णय गर्नुपूर्व  छलफल गरेको भए अझै राम्रो हुने थियो। 

मीन विश्वकर्मा, केन्द्रीय सदस्य

महासमिति सदस्य, जिल्ला सभापति  र कांग्रेसका आमशुभचिन्तकको आग्रहमा महासमिति बैठकले नै जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

जागरण अभियानका विषयमा टीकाटिप्पणी गर्नुभन्दा पार्टीको केन्द्रीय समितिले गरेको हो। अब निर्णय कसरी प्रभावकारी बनाउन उपयुक्त हुन्छ।  जागरण अभियान समग्र पार्टीको सुदृढीकरण तथा शुद्धीकरण अभियान भएकाले पार्टीको हितमा हुने गरी आफू अनुकूल पनि सञ्चालन गर्न सकिन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।