काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणको कार्यतालिका एक दिन छोट्याएर बुधबार स्वदेश फर्किने भएकी छिन् ।
राजकीय भ्रमणका क्रममा बेइजिङबाट मंगलबार अपराह्न ल्हासा पुगेकी उनी बिहान १०ः४० बजे काठमाडौं फर्किंदै छिन् । सिचुआन एयरलाइन्सको पहिलो उडानबाट बिहान १०ः४० मा काठमाडौं आउने जनाइएको छ ।
यसअघि उनी बिहीबार दिउँसो एयर चाइनाको उडानबाट स्वदेश फर्किने कार्यक्रम थियो । राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएपछि उनी एक दिनअघि नै स्वदेश फर्किएका हुन् । उनको स्वास्थ्यमा के समस्या भएको हो भन्ने पुष्टि हुन नसकेको जनाइएको छ ।
उनले बुधबार पोटाला र जोखाङ दरबार भ्रमण गर्ने, कृषि परियोजना अवलोकन गर्नेलगायत कार्यक्रम थिए ।
राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् । चीन भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता समेत गरेकी छिन् ।
द्विपक्षीय वार्तामा नेपालमा रेल, सुरुङमार्ग, अन्तरदेशीय विद्युत् प्रसारण लाइन लगायतका विषयमा छलफल भएको छ भने सातवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४