काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रदेश २ सरकरको कामकारबाहीप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । प्रदेश २ सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै नेकपाको नेतृत्वमा सरकार बत्र सक्ने बताएका छन् ।
‘फोरम र राजपा गठबन्धनको प्रदेश सरकारले मधेसी जनताको हितअनुकूल काम गर्न सकेको छैन,’ मंगलबार आफ्नै निवास खुमलटारमा मधेस तराई पार्टीका अध्यक्ष अमर यादवसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने, ‘नेकपाले चाहेका बेला प्रदेश २ मा सरकार ढल्न र बन्न सक्दछ ।’
प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै प्रचण्डले रेडबुकमा व्यक्तिको फोन नम्बर नै राखेर योजना दिइएको सुन्दा अचम्म लागेको बताए ।
‘सरकार भ्रष्टाचारमा लिप्त छ,’ उनले भने, ‘यस्तै स्थिति रहे बीचैमा नेकपाले सरकारको नेतृत्व लिनसक्ने परिस्थिति बत्र सक्दछ ।’ तराई मधेसमा कम्युनिस्ट नेतृत्वको सरकारले मात्र जनताको हितमा काम गर्न सक्ने दाबी गर्दै प्रचण्डले भने, ‘अब प्रदेश सरकारको विकल्प खोज्ने बेला भएजस्तो लागेको छ ।’
संविधान संशोधनबारे आफू सकारात्मक रहेको बताउँदै प्रचण्डले संविधान गतिशील दस्ताबेज रहेकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुन सक्ने उल्लेख गरे ।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । सबैभन्दा ठूलो दल रहे पनि नेकपा सरकारबाहिर छ । प्रचण्डले सरकार ढाल्ने चेतावनी दिए पनि आफ्नो नेतृत्वमा सरकार बनाउन नेकपालाई फोरम, राजपा वा कांग्रेसमध्ये एक दलको समर्थन चाहिन्छ । प्रदेश र संघीय सरकारबीच विभित्र मुद्दामा टकराव बढिरहेको बेला नेकपा अध्यक्ष प्रचण्डको पछिल्लो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४